नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्समाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त कारबाही फुकुवा गरिएको जानकारी दिएको हो । उक्त फाइनान्सको पुँजीकोषमा सुधार आउने देखिएपछि राष्ट्र बैंकको यही असार १० गतेको निर्णयानुसार, समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागु हुने गरी पोखरा फाइनान्समाथिको कारबाही फुकुवा गरिएको हो । यसअघि, पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण र आर्थिक वर्ष २०८१,८२ को पहिलो त्रैमासको विवरणका आधारमा सुपरिवेक्षकीय समायोजनपछि बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको पाइएको थियो ।
सोही कारण राष्ट्र बैंकले २०८१ माघ २३ गतेको निर्णयानुसार उक्त संस्थालाई शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड ग बमोजिम कारबाही प्रक्रिया अघि बढाएको थियो ।पछिल्लो समयमा पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने,गाभिने प्रयोजनका लागि राष्ट्र बैंकबाट २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति प्रदान गरिएको थियो । उक्त मर्जरपश्चात् २०८३ वैशाख मसान्तको वित्तीय विवरणका आधारमा कायम हुने संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र पुँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएको छ ।
फाइनान्सको पुँजीकोषमा सुधार आउने देखिएपछि समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागु हुने गरी पोखरा फाइनान्समाथिको कारबाही फुकुवा गरिएको राष्ट्र बैंकले बताएको छ । तथापि, पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी असार २६ गते शुक्रबार मर्जर भई पोखरा फाइनान्स लिमिटेडबाट सञ्चालन हुने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्समाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ…






