गण्डकीमा हालसम्म २४.८६ प्रतिशत धान रोपाई सम्पन्न


     एभरेस्ट आवाज    
     असार १२ गते २०८३ मा प्रकाशित




पोखरा, असार १२

गण्डकी प्रदेशमा हालसम्म करीब २५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा असार १२ गते शुक्रबार सम्ममा गण्डकीका ११ जिल्लामध्ये ९ जिल्लामा २४.८६ प्रतिशत धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा करीब ३ प्रतिशतले कम हो । अघिल्लो वर्ष यहि समयमा २८.६२ प्रतिशत रोपाईं भएको थियो ।

गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म १३ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको महाशाखाकी कृषि प्रसार अधिकृत बिना पराजुलीले जानकारी दिईन् ।

गण्डकीमा कास्कीमा सबैभनदा धेरै ४७ प्रतिशत र लमजुङमा सबैभन्दा कम ११ प्रतिशत रोपाईं सम्पन्न भएको छ । बागलुङमा ३८ प्रतिशत, म्याग्दीमा ३५ प्रतिशत, पर्वतमा २१ प्रतिशत, नवलपुरमा २०.९० प्रतिशत, स्याङजामा १९.३६ प्रतिशत, तनहुँमा २० प्रतिशत र गोरखामा ११.५ प्रतिशत रोपाईं भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कास्कीमा १६ हजार २ सय १० हेक्टर क्षेत्रफलमा धान लगाउने अनुमान गरिएकोमा हालसम्म ७ हजार ६ सय १८ हेक्टर जमिनमा धान रोपाईं भएको छ । बागलुङमा ५ हजार ७ सय १० हेक्टरमध्ये २ हजार १ सय ६९ हेक्टर, म्याग्दीमा ३ हजार ८ सय हेक्टरमध्ये १ हजार ३ सय ३० हेक्टर, पर्वतमा ७ हजार १ सय ६० हेक्टरमध्ये १ हजार ५ सय ३ हेक्टर, नवलपुरमा १८ हजार ७ सय २३ हेक्टरमध्ये ३ हजार ९ सय १४ हेक्टर, स्याङ्जामा १३ हजार ६ सय ८५ हेक्टरमध्ये २ हजार ६ सय ५० हेक्टर, तनहुँमा ८ हजार ५ सय १५ हेक्टरमध्ये १ हजार ७ सय ३ हेक्टर, गोरखामा १० हजार ५ सय हेक्टरमध्ये १ हजार २ सय ८ हेक्टर र लमजुङमा ९ हजार २ सय ९९ हेक्टरमध्ये १ हजार २२ हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको महाशाखाकी कृषि विकास अधिकृत बिनाकुमारी पराजुलीले जानकारी दिईन् । उनका अनुसार कास्कीमा ८ हजार ५ सय ९२ हेक्टर, बागलुङमा ३ हजार ५ सय ४१ हेक्टर, म्याग्दीमा २ हजार ४ सय ७०, पर्वतमा ५ हजार ६ सय ५७ हेक्टर, नवलपुरमा १४ हजार ८ सय ९ हेक्टर, स्याङ्जामा ११ हजार ३५ हेक्टर, तनहुँमा ६ हजार ८ सय १२ हेक्टर, गोरखामा ९ हजार २ सय ९३ हेक्टर र लमजुङमा ८ हजार २ सय ७६ हेक्टर जमिनमा रोपाईं हुन बाँकी छ ।

अघिल्लो वर्षको तुलनामा कास्कीमा रोपाईं केहि कम भएको देखिएको छ । यसमा मनसुन भित्रिन ढिलाई हुनु, भित्रिएको मनसुन प्रभावकारी नहुनुलगायतका कारणहरु रहेको पराजुलीले बताईन् । त्यसबाहेक जलवायु परिवर्तनको प्रभाव र त्यसमा किसानले अनुकुलन खोज्दा रोपाईं तुलनात्मक रुपमा पछि सर्दै गएको उनको दाबी छ । एक त मनसुन भित्रिन भएको ढिलाई र भित्रिएको मनसुन कमजोर हुँदा पर्याप्त पानीको अभावमा रोपाईंमा ढिलाई भएको देखिन्छ,उनले भनिन्,‘अर्कोचाहिं जलवायु परिवर्तनको असरले मनसुनमा पारेको प्रभावप्रति किसान सजग भएर अनुकुलन खोज्ने प्रवृत्ति पनि छ, जसले गर्दा किसानले नै रोपाईं ढिलाई गरेको पनि देखिन्छ ।’ उनले किसानले रैथाने बालीभन्दा अन्य बालीहरु लगाउन थालेकाले पनि रोपाईंको समय पछि सर्दै गएको हुनसक्ने उनको आँकलन छ । ‘क्रपिङ सिजन पनि पछाडि धकेलिएको छ र क्रपको म्याचुरिटी पिरियड पनि पछि सरेको छ ।’–उनले भनिन् ।

गण्डकीका ११ जिल्लामध्ये हिमालपारीका जिल्लाहरु मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।