जनप्रिय बहुमुखी क्याम्पस अल्मुनाइको अध्यक्षमा धिताल


     एभरेस्ट आवाज    
     असार १३ गते २०८३ मा प्रकाशित




पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको नयाँ नेतृत्व चयन भएको छ।

शनिबार आयोजित पूर्व विद्यार्थीहरूको बृहत् भेलाले सामाजिक व्यक्तित्व देवेन्द्र धितालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा पेमाडोम शेर्पा, सचिवमा क्षितिज बराल र कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन भएका छन्। यस्तै, सदस्यहरूमा विजय घिमिरे, प्रेम गिरी, प्रदीप पहारी, सुशान्त बाटाजू, प्रतिभा गिरी, प्रवीन अधिकारी, विदुर अधिकारी, तोरणबहादुर वि।क। र वसन्त गिरी रहेका छन् । पूर्व विद्यार्थी मञ्चका अध्यक्ष एवं क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न उक्त भेलामा बोल्दै बरालले क्याम्पस र पूर्व विद्यार्थीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुने बताए ।

कार्यक्रममा सचिव देवकृष्ण पराजुलीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षौंपछि क्याम्पसको आँगनमा भेट हुँदा पूर्व विद्यार्थीहरू भावनात्मक रूपमा एकाकार भएको बताए। उनले क्याम्पसबाट उत्पादित जनशक्ति आआफ्नो कार्यक्षेत्रमा अब्बल सावित हुनु नै संस्थाको वास्तविक परिचय र सफलता भएको उल्लेख गरे । क्याम्पसका सहायक प्रशासक महादेवकुमार पालिखेले जनप्रिय बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए । उनका अनुसार, शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरकै उत्कृष्ट सामुदायिक क्याम्पसको पुरस्कार पाउन सफल यस क्याम्पसमा हाल ४ हजार २ सय विद्यार्थी अध्ययनरत छन्।

लामो समयदेखि कृष्णबाबु बरालको अध्यक्षतामा रहेको पूर्व विद्यार्थी मञ्चले क्याम्पसको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको थियो। बराल सोही क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।