पण्डित मुक्तिनाथ तिम्सिनाको आत्मकथा सार्वजनिक


     एभरेस्ट आवाज    
     असार १४ गते २०८३ मा प्रकाशित




पोखराका शिक्षासेवी पण्डित मुक्तिनाथ तिम्सिनाको आत्मकथा केन्द्रित दोस्रो संस्करण सार्वजनिक भएको छ ।

मुक्तिनाथ स्मृति प्रतिष्ठान, पोखराले उनको ११३ औं जन्मजयन्तिको अवसर पारेर आइतबार सो कृति सार्वजनिक गरेको हो । कृतिको बरिष्ठ कलाकार दुर्गा बराल वात्सायनले लोकार्पण गरे । कार्यक्रममा बोल्दै उनले पण्डित मुक्तिनाथसँगको सहकार्यको स्मरण गर्दै, यस क्षेत्रको शैक्षिक तथा सामाजिक विकासमा उनको योगदान महत्वपुर्ण रहेको बताए । बरालले मुक्तिनाथको योगदान र सेवालाई चिरस्थायी बनाउन प्रतिष्ठानले भुमिका खेलेको बताए । उनले पण्डित मुक्तिनाथको जीवनका आरोह अवरोह बुझ्न कृति महत्वपुर्ण हुने अपेक्षा गरे । प्रकासित कृतिको समीक्षा गर्दै प्राध्यापक डाक्टर श्रीधर न्यौपानेले कृतिमा स्वर्गीय तिम्सिनाले समाजमा भोगेका भोगाईले नै आम मानिसलाई पाठ सिकाउने बताए ।

शिक्षा र समाज विकासको साधना साना तिना कुराले नहुने प्रष्ट पार्दै, त्यो पाठ मुक्तिनाथ गुरुबाट सिक्न सकिने बताए । कृति जोकोहीका लागि पनि प्रेरणाको स्रोत बन्ने न्यौपानेको भनाई छ । पोखरा र विशेष गरी बाटुलेचौर क्षेत्रमा तिम्सिनाको योगदान र उनको जीवनीका विषयमा संस्कृतिकर्मि रामबहादुर बानियाँले चर्चा गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य डिवी नेपाली, अधिकारकर्मि निलकण्ठ शर्मालगायतले तत्कालिन समाजमा पण्डित तिम्सिनाले गरेको सामाजिक र जातीय विद्रोहकै जगमा अहिले समाज बिस्तारै चेतना तर्फ लम्किएको बताए ।कार्यक्रममा तत्कालिन लेखनाथ नगरपालिकाका मेयर शालिग्राम पौडेल, पोखराका पुर्व मेयर भोला थापा, कवि दिनेश श्रेष्ठ, गीतकार तीर्थ तमाङ,प्रतिष्ठानका संस्थापक अध्यक्ष रमेश तिमिल्सीना, भीमसेन बस्नेतलगायतको सहभागिता रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठानका सदस्य किरण तिमिल्सीना र संचालन सचिव पुष्पराज तिमिल्सीनाले गरेका थिए । यस अघि प्रतिष्ठानले आत्मकथाको पहिलो संस्करण सार्वजनिक गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।