पोखरा सहरको गर्भभित्र रहेको अद्भूत संसार


     एभरेस्ट आवाज    
     असार १४ गते २०८३ मा प्रकाशित




सेती नदीको माथिल्लो भागबाट देखिएको गर्ज / तस्बिर : कृष्णमणी बराल

सन्देश श्रेष्ठ
पोखरा, असार १४

महेन्द्रपुलको बारमा उभिएर तलतिर हेर्दा मुटु नै जिरिङ्ग हुने गरी एउटा गहिरो र विशाल गर्जन सुनिन्छ । सहरको कोलाहल, गाडीको हर्न र मानिसहरूको दौडधुपभन्दा निकै तल, झण्डै ५० मिटरको गहिराइमा लुकेर बग्ने यो कस्तो रहस्यमयी नदी होला ? धेरै विदेशी र स्वदेशी पर्यटकका लागि पोखरा भन्नु नै फेवातालको शान्त सतहमा माछापुच्छ्रेको प्रतिविम्ब हेर्नु वा सराङकोटबाट सूर्योदयको आनन्द लिनु हो । तर, त्यही सहरको गर्भबाट नागबेली चालमा बग्ने सेतीभने कतै जमिनमुनि पूर्ण रूपमा हराउँछे, कतै दुई मिटरको साँघुरो चिराभित्र गुञ्जिन्छे त कतै विशाल खोंचमा आफ्नो तागत र श्वेत स्वरूप देखाउँछे ।

यो केवल एउटा पानीको वहाव मात्र होइन, यो त पोखरा सभ्यताको जननी र प्रकृतिको एउटा अद्भूत भूगर्भीय चमत्कार पनि हो । फेवातालले विश्व पर्यटनको नक्सामा पोखरालाई एउटा छुट्टै चिनारी दिइरहँदा, त्यही सहरलाई अस्तित्व दिएको र यहाँका तालहरूलाई जन्म दिएको सेती नदी भने आज आफ्नै सहरभित्र उपेक्षित छ । भूगर्भीय रहस्य, धार्मिक आस्था र साहसिक पर्यटनको अथाह सम्भावना बोकेको सेतीलाई पर्यटनको मूल नक्सामा ल्याउन नसक्दा पोखराले वर्षौँदेखि एउटा स्वर्ण अवसर गुमाइरहेको छ । सेतीको यो उपेक्षा केवल एउटा नदीको उपेक्षा मात्र होइन, यो त पोखराको भविष्यको समृद्धिको ढोकामा लगाइएको ताल्चा पनि हो ।

सभ्यताको आधार र वर्तमानको विरोधाभास

सूचना प्रविधिको विकास र पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएसँगै यहाँको चर्चा विश्वव्यापी छ । तर, सेती नदी पर्यटनको केन्द्र बन्नुको साटो सहरको फोहोर विसर्जन गर्ने ’डम्पिङ साइट’ र आत्महत्या गर्नेहरूको अन्तिम रोजाइ बन्दै जानु एउटा डरलाग्दो विडम्बना हो । ऐतिहासिक रूपमा पोखराका फेवा, बेगनास र रुपा लगायतका तालहरूको जन्मदाता मानिने यो नदी धार्मिक हिसाबले ’सेती गंगा’ हो भने साहसिक पर्यटनका लागि विश्वकै उत्कृष्ट र दुर्लभ गन्तव्य बन्न सक्ने ल्याकत राख्ने प्राकृतिक सम्पदा हो । यो आलेखले सेतीको ६ करोड वर्ष लामो भूगर्भीय गहिराइ, यसले बोकेको अर्बौँको आर्थिक सम्भावना र राज्यको नीतिगत मौनताका बीचमा गुम्सिएका अवसरहरूको विस्तृत खोजी गर्ने प्रयास गरेको छ ।

सेतीको उत्पत्ति ६ करोड वर्षको यात्रा र पोखराको निर्माण

सेती नदीको उत्पत्ति र पोखरा उपत्यकाको निर्माण एउटा यस्तो वैज्ञानिक कथा हो, जसले जोसुकैलाई पनि आश्चर्यमा पार्छ। भूगर्भविद् डा. कृष्ण केसीका अनुसार सेती नदी आजभन्दा झण्डै साढे ६ करोड वर्षअघि बनेको अनुमान छ । यो नदीले विभिन्न कालखण्डमा गएका महाभूकम्पहरू र त्यसले ल्याएको गेग्रानमार्फत पोखरा उपत्यकाको जग बसालेको हो । डा. केसीका अनुसार सेतीले पोखराको स्वरूप बदल्न तीनवटा मुख्य ’फर्मेसन’हरू पार गरेको छ :

=पुरुञ्चौर फर्मेसनः आजभन्दा झण्डै १२ हजारदेखि १४ हजार वर्षअघि गएको महाभूकम्पका कारण यो फर्मेसन भएको थियो। यसले माथिल्लो भेगको भु-बनोट तयार पार्यो ।

= घाचोक फर्मेसनः झण्डै १० हजारदेखि १२ हजार वर्षअघिको यो चरणले सेतीको बहाव र किनारका पहाडहरूलाई आकार दियो ।
= पोखरा फर्मेसनः यो सबैभन्दा महत्त्वपूर्ण चरण हो, जुन आजभन्दा झण्डै ७ सयदेखि ११ सय वर्षअघि मात्र भएको मानिन्छ। डा. केसी भन्छन्, “नदीपुरदेखि पोखरा रंगशाला र चाउथेसम्मको समथर भूभाग यही पोखरा फर्मेसनकै देन हो ।”

रोचक कुरा त के छ भने, कुनै समय सेती नदी नदीपुरबाट सिधै विजयपुरतर्फ बग्ने गर्दथ्यो । तर पोखरा फर्मेसनको बेला गेग्रानले बाटो थुनिदिएपछि सेती महेन्द्रपुल, महतगौंडा र दोबिल्लातर्फ मोडिन पुग्यो। सेतीको बाटो थुनिएका कारण त्यसको ’साइड इफेक्ट’ का रूपमा फेवाताल, बेगनास, रुपा, गुँदे, न्यूरेनी, दिपाङ, खास्टे, मैदी र कमलपोखरी जस्ता तालहरूको जन्म भएको हो । यसर्थ, वैज्ञानिक रूपमा भन्नुपर्दा सेती नदी नभएको भए आज पोखराका यी नौवटै तालहरूको अस्तित्व हुने थिएन। यो नदी पोखराका तालहरूको ’आमा’ मात्र होइन, समग्र पोखरेली सभ्यताको जननी पनि हो ।

सेती नदी पोखरा सभ्यताको जननी मात्र होइन, यो सहरका १० वटै तालहरूको जन्मदाता पनि हो । यदि झण्डै एक हजार वर्षअघि सेतीले आफ्नो बाटो नमोडेको भए आज न पोखरा उपत्यका हुन्थ्यो, न त फेवाताल जस्तो विश्वविख्यात पर्यटकीय गन्तव्य नै ।

धार्मिक र सांस्कृतिक वैभव आस्थाको ’सेती गंगा’

सेती नदीको पानीमा चुनढुङ्गा मिश्रित हुने भएकाले यो सधैँ सेतो देखिन्छ, त्यसैले यसको नामाकरण ’सेती’ गरिएको हो । पौराणिक र धार्मिक ग्रन्थहरूमा यसलाई ’सेती गंगा’ भनिएको छ। सेतीगंगा संरक्षण तथा विकास समितिका संस्थापक संयोजक विश्वप्रकाश लामिछानेका अनुसार विभिन्न पुराणहरूमा सेतीको पवित्रताबारे विस्तृत वर्णन गरिएको छ ।
“स्कन्द पुराणमा सेतीको जललाई अत्यन्त पवित्र मानिएको छ । यो हिन्दूहरूका लागि एउटा मुख्य तीर्थस्थल हो । पुराणमा भनिएको छ कि यो नदीमा स्नान गरेमा वा यज्ञ–अनुष्ठान गरेमा सबै तीर्थ पुगेजत्तिकै फल प्राप्त हुन्छ” लामिछाने सुनाउँछन् । यही धार्मिक विश्वासका कारण हरेक पोखरेलीको मृत्युपश्चात् अन्त्येष्टि र अस्तु सेलाउने अन्तिम थलो सेती किनार नै बन्ने गरेको छ । माघे संक्रान्तिमा माघेस्नान गर्ने, ठूली एकादशीमा फूल तार्ने र श्रावणको सोमबार गाईघाटबाट बोलबमको जल लिएर निस्कने हजारौँ भक्तजनहरूको आस्थाले सेतीलाई एउटा जीवित सांस्कृतिक सम्पदा बनाएको छ । तर, यति पवित्र मानिने नदीमा आज सहरका ढलहरू सिधै मिसाइनुले हाम्रो धार्मिक आस्था र वातावरणीय चेतनाबीचको विरोधाभासलाई छर्लङ्ग पारेको छ ।

दुर्लभ प्राकृतिक गर्ज प्रकृतिको एउटा रहस्यमयी खोंच

प्राकृतिक हिसाबले सेती नदी वास्तवमै रहस्यमयी र सुन्दरताको अनुपम उदाहरण हो । विश्वका अन्य सहरहरूमा नदीहरू जमिनको सतहमा बग्छन्, तर पोखरामा सेती जमिनभन्दा निकै तल एउटा गहिरो खोंच बनाएर बग्छ । यो नदीले बनाएको ’गर्ज’ विश्वमै दुर्लभ मानिन्छ। कतै यो दुई मिटरको साँघुरो चिराभित्र यति खुम्चिन्छ कि माथिबाट हेर्दा यसको पिँध नाङ्गो आँखाले देख्न सकिँदैन । कतै भने रामघाटजस्तो फराकिलो क्षेत्रमा फैलिएर ढुङ्गा, गिट्टी र बालुवाको विशाल खानीजस्तो देखिन्छ ।

नागबेली चालमा बग्ने यो नदी कतै जमिनमुनि हराउँछ र कतै विशाल आवाजका साथ प्रकट हुन्छ। केआई सिंह पुल, महेन्द्रपुल र पृथ्वीचोकको ’चाइना पुल’ बाट देखिने सेतीको दृश्यले जोसुकैलाई पनि आश्चर्यमा पार्छ । यो रहस्यमयी बनोट नै पर्यटकलाई आकर्षित गर्ने सबैभन्दा बलियो हतियार बन्न सक्छ । तर, विडम्बना ! आज यी खोंचहरू पर्यटनको गन्तव्य बन्नुको साटो आत्महत्या गर्नेहरूको रोजाइमा परेका छन् । कास्की प्रहरीको रिपोर्टले देखाउँछ कि सुरक्षाको उचित व्यवस्था नहुँदा सेतीका यी भीरहरूबाट हामफालेर ज्यान फाल्नेहरूको सङ्ख्या बढिरहेको छ ।

सम्भावनाको पहाड फेवातालभन्दा कम छैन सेती

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार सेती नदी केवल एउटा प्राकृतिक संरचना मात्र होइन, यो पोखराको पर्यटनलाई नयाँ उचाइमा पु¥याउने ’मास्टर–प्रोडक्ट’ बन्न सक्छ । उनी भन्छन्, “हामीले फेवातालको मात्र कुरा गर्यौँ, तर सेतीको बनोट त फेवातालभन्दा पनि अद्भूत छ । चीन र युरोपका धेरै देशहरूले साना नदीका खोंचहरूलाई सौन्दर्यकरण गरेर अर्बौँ आम्दानी गरिरहेका छन् । हाम्रो सेतीमा त नेचर र एडभेन्चरको कुटकुट भरिएको छ ।”

सेतीमा पर्यटनका कम्तीमा ६वटा ठूला क्षेत्रहरू छन् :

१. साहसिक खेलकुदः बञ्जी जम्पिङ, क्यानोइङ, ¥याफ्टिङ, रक क्लाइम्बिङ र स्काई साइक्लिङ ।

२. धार्मिक पर्यटनः सेती गंगाको किनारमा व्यवस्थित ’रिभर–साइड’ घाट, मन्दिर र पार्कहरूको निर्माण ।

३. सौन्दर्य अवलोकनः गहिरा खोंचहरूमा ’ग्लास ब्रिज’ र ’भ्यु डेक’ निर्माण गरी पर्यटकलाई खोंचको भित्री दृश्य देखाउने ।

४. करिडोर र पदयात्राः केआई सिंह पुलदेखि दोबिल्लासम्मको ८ किलोमिटर क्षेत्रमा दुवैतर्फ पदमार्ग र हरियाली करिडोर निर्माण ।

५. मनोरञ्जनः नदी फैलिएको ठाउँमा ड्याम बाँधेर कृत्रिम ताल (जस्तै रामताल) निर्माण गरी वाटर स्पोट्र्स र डुङ्गा सञ्चालन गर्ने ।

६. सेतीमा पर्यटन व्यापार : सेतीको दुबैतर्फ मापदण्ड कायम गर्दै करिडोर निर्माण गर्ने र सौन्दर्यकरणसँगै ठाउँठाउँमा होटल, रेष्टुरेण्ट, रिसोर्ट, कफी सप, बार सञ्चालन गर्ने ।

सेती नदीमा ५ अर्बको लगानी गरेर गुरुयोजना कार्यान्वयन गर्ने हो भने यसले वार्षिक १० लाख थप पर्यटक आकर्षित गर्न सक्छ । फेवातालमा हुने ’ओभर टुरिजम’ को चापलाई व्यवस्थापन गर्न र पर्यटकको बसाई अवधि कम्तीमा एक दिन थप्न सेती नै सबैभन्दा बलियो विकल्प हो ।

असफल प्रयास : किन तुहियो ’रामताल’ को सपना?

सेतीलाई पर्यटनको हब बनाउने प्रयास २०७४ सालमा नभएको होइन। तत्कालीन मेयर मानबहादुर जिसीको पालामा रामघाट क्षेत्रलाई ’रामताल’ बनाउने र त्यसलाई पिपिपी मोडलमा सञ्चालन गर्ने महत्त्वाकाङ्क्षी प्रस्ताव गरिएको थियो । टेण्डर आह्वान गरेपछि ’बतास अर्गनाइजेसन’ निकट ’सेती क्यान्योन प्रालि’ ले यसको जिम्मा पाउने पक्का भएको थियो। योजना थियो नदीमा ड्याम बाँधेर ताल बनाउने, माथिबाट वारपार झोलुङ्गे पुल हाल्ने र तालमा वाटर स्पोट्र्स सञ्चालन गर्ने ।

तर, यो परियोजना स्वार्थ समूह र राजनीतिक खिचातानीको सिकार भयो । महानगरका पूर्व इन्जिनियर महेन्द्र गोदार सम्झन्छन्, “त्यो बेला डेढ अर्बको लगानीमा रामताल बनाउने सम्झौता भएको थियो । तर, केही स्वार्थ समूह र दलका कार्यकर्ताले ’नदी बेच्न लागियो’ भन्दै विरोध गरे । लगानीकर्तालाई हतोत्साही बनाइयो र अख्तियारसम्म मुद्दा पु¥याइयो । पछि मुद्दा त जितियो, तर काम गर्ने वातावरण नै भएन ।” गोदारका अनुसार महानगरको बजेटले मात्र यति ठूलो काम सम्भव थिएन, त्यसैले निजी क्षेत्रलाई गुहारिएको थियो । “अहिले म सुत्दा पनि सेती देख्छु, उठ्दा पनि सेती देख्छु । हाम्रो सपना तुहाइयो, जसका कारण सेती आज झन्झन् फोहोर फाल्ने डम्पिङ साइट बन्दै गएको छ,“ उनी दुखेसो पोख्छन् ।

इन्जिनियर गोदारको भिजन ८.३ किलोमिटरको करिडोर

इन्जिनियर महेन्द्र गोदारका अनुसार सेतीको सदुपयोगका लागि पदयात्रा मार्ग सबैभन्दा प्रभावकारी हुन सक्छ । उनले केआई सिंह पुलदेखि दोबिल्लासम्मको ८.३ किलोमिटर क्षेत्रमा एकतर्फी पदयात्रा गर्न मिल्ने करिडोरको प्रस्ताव गरेका छन् । उनी भन्छन्, “हामीले नदीको गर्ज अवलोकन गर्ने गरी ‘क्यान्टीलिभर ब्रिज’ बनाउन सक्छौँ । कतै सुरुङ मार्गबाट हिँड्ने र कतै खोंचभित्रै गएर अवलोकन गर्ने व्यवस्था गर्न सकिन्छ । रातको समयमा लाइटिङ गरेर सेतीलाई अझै सुन्दर बनाउन सकिन्छ।”

तर, भूगर्भविद् डा. कृष्ण केसी भने सेतीको सदुपयोग गर्दा सुरक्षाका उपायहरूमा विशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन् । भौगोलिक रूपमा सेतीको बनावट कमजोर रहेकाले भौगोलिक अध्ययन जरुरी छ। “सेती संवेदशील छ, यहाँ जति सम्भावना छ, त्यति नै जोखिम पनि छ। तर जोखिम न्यूनीकरण गरेर पर्यटकीय हब बनाउँदा नदीको संरक्षण पनि हुन्छ र आम्दानी पनि हुन्छ,” डा. केसीको तर्क छ ।

निजी क्षेत्रको प्रयास ’बञ्जी नेपाल’ एउटा उदाहरण

सेतीको काखमा केही साहसिक गतिविधिहरू सुरु भएका छन्, जसले आशा जगाएको छ। पोखरा–१७ रातोपैह्रामा सञ्चालित ’बञ्जी नेपाल’ यसको एउटा सफल उदाहरण हो । बञ्जी नेपालकी प्रबन्ध निर्देशक मीना बराल लामाका अनुसार सेतीको खोंचमा बञ्जी गर्न आउने पर्यटकहरूको सङ्ख्या लोभलाग्दो छ । “भारतीय पर्यटकहरूका लागि त सेतीको बञ्जी अहिले एउटा मुख्य आकर्षण बनेको छ,“ उनी भन्छिन् ।

तर, उनीजस्ता लगानीकर्ताहरूलाई सरकारी नीति र कानुनले डराउँछ । “हामी रक क्लाइम्बिङ र अन्य साहसिक खेलहरू थप्न चाहन्छौँ, तर वन वातावरण र सरकारी झमेलाले गर्दा लगानी थप्न डराइरहेका छौँ,” लामाको गुनासो छ। राज्यले सुरक्षाको ज्ञारेन्टी गर्ने र नीतिगत स्पष्टता दिने हो भने निजी क्षेत्र सेतीमा अर्बौँ लगानी गर्न तयार छ । युनाइटेड क्लब पोखराले पनि सेतीमा ’रोपिङ’ प्रोजेक्टको प्रयास गरेको थियो, तर महानगरले रोकिदिएपछि त्यो अभियान पनि अलपत्र प¥यो ।

तथ्याङ्कको ऐनामा पोखराको पर्यटन र सेतीको महत्व

नेपालमा वार्षिक झण्डै ११ लाख ६३ हजार पर्यटक भित्रिन्छन्, जसमध्ये ६० प्रतिशत पोखरा पुग्छन्। पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार २०२६ सम्ममा पोखरामा वार्षिक १५ लाख पर्यटक पुग्ने अनुमान छ । तर, एउटा दुःखद पक्ष के छ भने पोखरामा पर्यटकको औसत बसाई अवधि अझै पनि साढे दुई दिनभन्दा माथि जान सकेको छैन ।

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेका अनुसार यदि सेती करिडोर र साहसिक गतिविधिहरूलाई व्यवस्थित गर्ने हो भने पर्यटकको बसाई अवधि कम्तीमा एक दिन थप्न सकिन्छ । “सेतीको ८ किलोमिटर क्षेत्रमा पदयात्रा मार्ग र ठाउँ–ठाउँमा भ्यु प्वाइन्टहरू बनाउँदा पर्यटकहरूका लागि एउटा नयाँ संसार खुल्छ,” लामिछाने भन्छन् । तथ्याङ्कले के देखाउँछ भने पोखरा आउने ७० प्रतिशत पर्यटक साहसिक खेलकुदमा रुचि राख्छन् । सेती यस्तो ठाउँ हो, जहाँ ¥याफ्टिङ, क्यानोइङ र बञ्जी जस्ता सबै साहसिक खेलहरू एउटै करिडोरमा सञ्चालन गर्न सकिन्छ ।

सरकारको मौनता : किन पर्यो सेती ओझेलमा?

फेवातालको संरक्षणका लागि वर्षेनी करोडौँ बजेट छुट्टिन्छ, तर सेतीका लागि भने राज्यको नजर पर्दैन । हालसालै संघ र प्रदेशले ल्याएको बजेटमा पनि सेतीका लागि कुनै ठोस कार्यक्रम छैन । यो उपेक्षाले पोखरेलीहरूलाई चिन्तित बनाएको छ । गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल भने सेतीको सम्भावनाबारे सरकार सचेत रहेको र आगामी दिनमा सम्भाव्यता अध्ययन गरेर बजेटको व्यवस्था गर्ने आश्वासन दिन्छिन् । “सेती नदी फेवातालजत्तिकै महत्त्वपूर्ण छ । यसको सौन्दर्यकरण र संरक्षणका लागि सरकारले पहलकदमी लिनेछ,“ उनले भनिन् । तर, यस्ता आश्वासनहरू पोखरेलीले वर्षौँदेखि सुन्दै आएका छन्, परिणाम भने अझै देखिन बाँकी छ ।

सेती केवल पानीको धारा होइन, यो पोखराको ’अदृश्य म्युजियम’ र ’स्वर्ण खानी’ हो । सहरको मुटुभित्र लुकेका यी खोंचहरूलाई विश्वको उत्कृष्ट साहसिक केन्द्र बनाउन केवल बलियो राजनीतिक इच्छाशक्ति र निजी क्षेत्रसँगको सहकार्यको खाँचो छ ।

बगिरहेको सम्भावना र हाम्रो दायित्व

सेती नदी सभ्यता हो । धार्मिक र सांस्कृतिक धरोहर हो । र, पोखराको भविष्यको समृद्धिको वाहक हो । यसको सुसेली, अनौठा गर्ज र निरन्तर बगेको दूधजस्तो पानीले हामीलाई वर्षौँदेखि एउटै सन्देश दिइरहेको छ, सम्भावनाको यो स्रोतलाई चिन ।

६ करोड वर्षको इतिहास बोकेको यो नदीले पोखरालाई जन्म दियो, नौवटा तालहरू दियो र एउटा सुन्दर उपत्यका दियो । तर, बदलामा हामीले यसलाई के दियौँ? ढल, फोहोर र उपेक्षा ! पोखरालाई साँच्चै पर्यटनको राजधानी बनाउने हो भने हामीले सतहको फेवातालबाट केही मुनि झरेर गहिरो सेतीको ’स्वर्ण सम्भावना’लाई चिन्ने बेला आएको छ ।

सेतीको दुवै किनारमा करिडोर निर्माण, सुरक्षासहितको खोंच अवलोकन र साहसिक खेलकुदको एकीकृत विकास नै पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्या्उने एकमात्र बाटो हो । पोखराको सभ्यतालाई जन्म दिएको सेती आज पनि त्यही अनवरत वेगमा बगिरहेको छ । प्रश्न केवल यति होहामी फेवातालको सतहमा देखिने सौन्दर्यलाई मात्र हेरेर रमाउने कि भूमिगत गर्जनभित्र लुकेको अर्को विशाल सम्भावनालाई पनि अवसरमा बदल्ने? सेतीको सुसेलीले आज पनि यही प्रश्नको उत्तर खोजिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।