पोखरा, असार १४ पोखरामा वर्षायाममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन्। पोखरा पर्यटन परिषद्ले २१औँ संस्करणको महोत्सव असार १५ मा पूर्णिमा परेकाले एक दिनअघि आइतबार आयोजना गरेको हो।
पोखरा महानगरपालिका–३० देउराली खोला किनारस्थित खेतमा आयोजित महोत्सवमा भारतीयसहित विभिन्न मुलुकका पर्यटकले हिलोमा खेलेर रोपाइँ गर्दै नेपाली कृषि संस्कृतिको अनुभव लिए। स्थानीय किसानको करिब आठ रोपनी क्षेत्रफलमा चार हल गोरुले जोतेको खेतमा महोत्सव सञ्चालन गरिएको थियो।
परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार हिलोमा रमाउनकै लागि केही विदेशी पर्यटक यही समयमा नेपाल आउने गरेका छन्। यस वर्ष सार्वजनिक बिदा परेकाले आन्तरिक पर्यटकको सहभागिता पनि उल्लेख्य रहेको उनले बताए।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा हलगोरु दौड, असारे भाकासहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड, पत्रकार खुला हिलो दौड र रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिएको थियो।
परिषद्का महासचिव जीवनराज सापकोटाले कृषि, पर्यटन र स्थानीय संस्कृतिको संरक्षणसँगै कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार परम्परागत धान खेती प्रणाली जोगाउने, युवापुस्तालाई कृषिप्रति आकर्षित गर्ने र बाँझो जमिन उपयोगमा ल्याउन महोत्सवले प्रेरणा दिने विश्वास गरिएको छ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने माध्यमका रूपमा रोपाइँ महोत्सवले पोखराको पहिचानलाई थप बलियो बनाएको बताए। किसानको मेहनतले कृषि, अर्थतन्त्र र खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुगेको उनको भनाइ थियो।
महोत्सवका अवसरमा महानगरले ज्ञानबहादुर कार्की र कमला पाल्पाली खड्कालाई उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ। दुवैलाई नगदसहित सम्मानपत्र प्रदान गर्दै कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गरिएको महानगरले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट…






