वन क्षेत्र संरक्षण गर्न तनहुँमा निःशुल्क बिरुवा वितरण


     एभरेस्ट आवाज    
     असार १५ गते २०८३ मा प्रकाशित




डिभिजन वन कार्यालय, तनहुँले यहाँका स्थानीयलाई विभिन्न २८ प्रजातिका बिरुवा निःशुल्क लिन आउन आग्रह गरेको छ ।

मङ्गलबारदेखि कार्यालय परिसरमा रहेका निमारो, राईखन्यु, बडहर, कटहर, च्युरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपूर, शितलचिनी, अमला, बर्ता, हर्रो, बकाइनो, कुरिलो, धूपी, गुलमोहर, विरिस्फूल, पारिजात, चाँप, बयर, बेल, पिपल, वर, राजवृक्ष र नौरङ्गेलगायत २८ प्रजातिका बिरुवा निःशुल्क लैजान आग्रह गरेको हो । वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निःशुल्क बिरुवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताए ।

वर्षायाम वृक्षरोपणका लागि उपयुक्त समय भएकाले नागरिक, सामूदायिक वन उपभोक्ता समूह, विद्यालय, सङ्घसंस्था तथा स्थानीय तहलाई बिरुवा लगाउन प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए । “वन क्षेत्र संरक्षण मात्र पर्याप्त हुँदैन, खुला तथा खाली जमिनमा समेत वृक्षारोपण आवश्यक छ,” श्रेष्ठले भने, “हामीले वितरण गर्ने बिरुवालाई सही तरिकाले रोपेर संरक्षण गर्न सकियो भने यसले वातावरणीय सन्तुलन कायम गर्न ठूलो योगदान पु¥याउँछ ।”उनले वितरण गरिने बिरुवामध्ये केही प्रजाति फलफूल, केही औषधीय तथा केही छायाँ र वातावरणीय महत्वका रहेको जानकारी दिए ।

स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार बिरुवा छनोट गरेर रोप्न आग्रह गर्दै श्रेष्ठले बिरुवा रोपिसकेपछि त्यसको संरक्षणलाई विशेष ध्यान दिनुपर्ने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।