नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप पोखरामा सम्पन्न भएको छ ।
नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा सो एक दिने कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । त्यस अवसरमा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र पोखराका मेयर धनराज आचार्यले कफि कपिङमा उत्कृष्टता हासिल गर्ने उद्यमी तथा कृषकहरूलाई नगद सहित सम्मान समेत प्रदान गरे ।
कृषकहरूले पोखरा महानगर क्षेत्रमा करिब ४५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्ने गरेका छन् । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा बर्सेनि करिब १५ टन कपि उत्पादन हुने गरेको छ । कृषकहरूलाई प्रोत्साहनका लागि महानगरपालिकाको तर्फबाट कम्तीमा १ सय बोट कफि रोप्नेहरूलाई प्रति बोट ५० रुपैयाँ प्रदान गर्ने कार्यक्रम अन्तर्गत १० हजार बिरुवा लगाइएका छन् । महानगरपालिकाले कृषकहरूलाई कफी प्याकेजिङमा सहयोग गरेको छ भने, पोखरामा करिब १ हजार ५ सयको हाराहारीमा कफि क्याफे तथा सपहरु सञ्चालनमा रहेका छन् ।
नगर प्रमुख आचार्यले कफि खेतीको व्यावसायिक विकासका लागि कृषकहरूलाई बीउ तथा बिरुवामा अनुदान प्रोत्साहन लगायत बजारीकरणमा समेत आवश्यक सहयोग तथा समन्वय गरिएको बताए । कफि क्याफेहरू सञ्चालनका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धन केन्द्र मार्फत वारिष्टा लगायतको सीप विकासका तालिम कार्यहरू समेत सञ्चालन गरिएको उनले बताए । महानगरपालिका कृषकहरूको साथमा रहेको विश्वास दिलाउँदै उनले बाँझो जमिन तथा बाँदरहरूले क्षति पुर्याउने क्षेत्रमा यसको खेती गर्न कृषकहरूलाई आह्वान समेत गरे । खेतीयोग्य जमिनहरू बाँझो बस्ने समस्या बढिरहेको उल्लेख गर्दै प्रमुख आचार्यले यसलाई उपयोग गर्ने उपयुक्त बालीका रूपमा कफि खेतीको विस्तार गर्न सकिने बताए ।
कफिको व्यवसायिक उत्पादन र प्रविधिसँग केन्द्रित भएर प्यानल छलफल समेत गरिएको छ । बिभिन्न स्टल मार्फत कफिको प्रयोग, उत्पादन र बजारिकरणका बिषयमा जानकारी दिईएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभासहित नवनिर्मित भवनको उद्घाटन गरिएको छ…






