विश्वकर्मा सेवा समाज कास्कीको नवनिर्मित भवन उद्घाटनसँगै विशिष्ट व्यक्तित्व र ज्येष्ठ नागरिक सम्मानित


     एभरेस्ट आवाज    
     असार २० गते २०८३ मा प्रकाशित




विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभासहित नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

शनिबार पोखरा महानगरपालिका–७, रामकृष्ण टोल, घारीपाटनमा समाजले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी उद्घाटन गरेको हो । कार्यक्रममा समाज र राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने बौद्धिक एवं व्यावसायिक व्यक्तित्व, ज्येष्ठ नागरिक र भवन निर्माणमा सहयोग गर्ने मनकारी दाताहरूलाई भव्य सम्मान गरिएको थियोे । सो अवसरमा वोल्दै प्रमुख अतिथि दुर्गा बहादुर सुनारले उत्पीडित तथा शिल्पी आन्दोलनमा विश्वकर्मा समुदायले पु¥याएको ऐतिहासिक र निर्णायक योगदानको चर्चा गर्दै समुदायबीचको बलियो एकता, सहकार्य र संस्थागत विकासको प्रशंसा गरे । यस्ता प्रेरणादायी अभियानले नयाँ पुस्तालाई आफ्नो गौरवमय इतिहास र पहिचानप्रति गर्व गर्न सिकाउने विश्वास उनले व्यक्त गरे । यसैगरी, समाजका पूर्वअध्यक्ष एवं पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मल दियालीले विश्वकर्मा समुदाय अब सामाजिक दायरामा मात्र सीमित नरही प्रशासनिक, राजनीतिक र नीतिगत तहमा समेत सशक्त रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले नयाँ पुस्ताका युवाहरूलाई उच्च शिक्षा, नेतृत्व विकास र निजामती सेवातर्फ आकर्षित हुन विशेष आग्रह गरे ।

किसान विश्वकर्माको संयोजन र भविन्द्र सुनारको अध्यक्षतामा आयोजित समारोहमा भवन निर्माण समितिका आर्थिक संयोजक दशरथ सुनारले स्वागत मन्तव्य राख्दै जग्गा खरिददेखि भवन निर्माण सम्पन्न हुँदासम्म अनेकौं आर्थिक तथा व्यवस्थापकीय चुनौतीहरू सामना गर्नुपरेको स्मरण गरे । तथापि, सम्पूर्ण समुदाय, मनकारी दाता र शुभेच्छुकहरूको अनवरत साथ र सहयोगका कारण आज यो ऐतिहासिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै उनले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरे ।समारोहमा समाजका अध्यक्ष भविन्द्र सुनारले संस्थाको स्थापनाकालदेखिको गौरवशाली यात्रा, समाजले सम्पादन गरेका रचनात्मक गतिविधि र आगामी कार्ययोजनाबारे प्रकाश पारे। उनले समुदायको एकता र संस्थागत सुदृढीकरणका लागि समाज सदैव प्रतिबद्ध रहने प्रण गरे ।

सो अवसरमा विश्वकर्मा सुमदायबाट आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट योगदान पु¥याएबापत डा. दिनेश विश्वकर्मा, डा. गणेश विश्वकर्मा, डा. सुरेश कुमार विश्वकर्मा, डा. देउबहादुर विश्वकर्मा, डा. दृश्य विश्वकर्मा, डा. संजित विश्वकर्मा, डा. शैलेन्द्र वि.क., डा. सुजन वि.क., डा. कृति सुनार, पाइलट स्वीकार वि.क., स्थापित कलाकार कुलेन्द्र विश्वकर्मा र पत्रकार सुरेश सुनार सम्मानित हुनुभएको थियो ।यस्तै, समाजको अमूल्य नीधिका रूपमा रहेका ८० वर्ष नाघेका आदरणीय ज्येष्ठ नागरिकहरू जंगवीर विश्वकर्मा, दुर्गा बहादुर सुनार, जसबहादुर सुनार, सुकमाय सुनार, पुतली सुनार, छविलाल सुनार, डिल्लीराम विश्वकर्मा, गुप्तबहादुर विश्वकर्मा, मनरुपा सुनार, भुवनलाल सुनार,आइत विश्वकर्मा, तिलकुमारी घमाल, खिमलाल सुनार, गंगाराम सुनार, पार्वती कामी, तिलीकुमारी सुनार तथा डबलबहादुर घताकामीलाई पनि दोसल्ला र सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव तारा गौतम सुनारले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।