गृह मन्त्रालयको प्रतिबद्धतापछि, सुस्तावासीको काठमाडौँ केन्द्रित आन्दोलन स्थगित


     एभरेस्ट आवाज    
     असार २१ गते २०८३ मा प्रकाशित




करिब एक सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका सुस्ताबासीले आन्दोलन स्थगित गरेका छन् ।

सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेर घरफर्किएका हुन् । काठमाडौंमा धर्ना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरूको टोली आइतबार बिहान सुस्ता पुगेको आन्दोलनका संयोजक बाबु खाँले जानकारी दिए ।

उनका अनुसार गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिहरूको विवरण तयार गर्ने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने विषयमा पत्राचार गरेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको हो ।

संयोजक खाँले सुस्तामा फर्किएपछि जिल्ला प्रशासन कार्यालयसँग सोमबार थप छलफल गर्ने तयारीमा रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।