पोखरा,२१ असार । पोखराबाट दुबई उडानको घोषणा गरेको फ्लाइ दुबईले लामो उडान तालिका सार्वजनिक गरेको छ । सुरुमा भदौ ७ गतेदेखि एक महिनाको लागिमात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को माच २६ सम्मकै बुकिङ खुला गर्दै उडान दीर्घकालीन बनाउने छनक दिएको हो ।
फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए ।
‘हप्तामा ४ उडानबाट सुरु भएको काठमाडौं–दुबई उडान अहिले दिनमै ४ वटामा आएको छ,’उनले भने,‘हामी पोखरामा पनि तीतो हैन, मीठो अनुभूति चाहन्छौँ । भैरहवामा भने हामीले तीतो अनुभव ग¥यौँ ।’
फ्लाइ दुबईको भैरहवा उडान अहिले रोकिएको छ । पोखरा उडान सुरु गरेपछि यसलाई स्थायित्व दिनका निम्ति स्थानीयको सहयोग महत्वपूर्ण हुने बताए ।
पोखरा–दुबई उडानलाई सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्ने क्रममा आइतबार आयोजित छोटो कार्यक्रममा उनले पोखरा–दुबई उडानले यहाँका नागरिकलाई सोझै लण्डन,न्यूयोर्क वा जापानको टोकियोजस्ता २६० वटा गन्तव्यमा पुग्ने अवसर आएको पनि बताए ।
सो अवसरमा बोल्दै कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा विमानस्थल निर्माणमा संघले गरेको पैरवी र लामो रिले अनसनको स्मरण गर्दै यहाँबाट अन्तर्राष्ट्रिय उडानका निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
‘हामी यतिबेला अन्तर्राष्ट्रिय उडानको चाहना राखिरहेका छौँ । हामी भोको छौँ । भोको मान्छेलाई सुनकै थाली भए पनि भोजन नभएपछि केही नहुँदो रहेछ,’अध्यक्ष कार्कीले भने,‘ हामी नियमित उडान चाहन्छौँ ।’
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका जनरल म्यानेजर रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताए ।
पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र इमिरेट्सले सुरु गरेको यात्रा सफल नभए पोखरा नै १० वर्ष पछाडि धकेलिने धारणा राखे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार २१ – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा…






