पदयात्रा पर्यटनका समस्या समाधानका लागि सरकारलाई टान गण्डकीको ८ बुँदे ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     असार २१ गते २०८३ मा प्रकाशित




पोखरा, असार २१ – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान र दिगो पर्यटन प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल(गनेस) समक्ष आठ बुँदे सुझाव पेश गरेको छ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मन्त्री पौडेललाई बुझाएको ध्यानाकर्षणपत्रमा पर्यटन नीति तथा कानुन सुधार, पदमार्ग संरक्षण, अवैध ट्रेकिङ नियन्त्रण, नेपाल पर्यटन बोर्डमा संस्थागत सुधार, नयाँ पदमार्गको खोजी तथा पूर्वाधार विकास, दोहोरो शुल्क अन्त्य, प्रशासनिक सरलीकरण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।
ध्यानाकर्षणपत्रमा पर्यटन विधेयक–२०८२ मा पर्वतारोहणसँगै पदयात्रा पर्यटनका विषयलाई पनि स्पष्ट रूपमा समेट्नुपर्ने उल्लेख गरिएको छ। साथै हिमश्रृंखला तथा प्रमुख पदमार्गलाई संरक्षण क्षेत्रका रूपमा विकास गर्न, ‘फेक रेस्क्यु’ जस्ता गतिविधिमाथि कडा कानुनी कारबाही गर्न तथा जलविद्युत् आयोजना र सडक विस्तारका क्रममा पदमार्गमा असर नपर्ने व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
टानले सन् २००६ देखि लागू गरिएको ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (TIMS) लाई प्रभावकारी रूपमा पुनः कार्यान्वयन गर्न, इजाजतप्राप्त ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रा सञ्चालन गर्न र अवैध ट्रेकिङमा संलग्न व्यक्ति तथा संस्थामाथि कडा निगरानी र कारबाही गर्न पनि आग्रह गरेको छ।
नेपाल पर्यटन बोर्डलाई आफ्नो मूल उद्देश्यअनुसार पर्यटन प्रवर्द्धनमा केन्द्रित बनाउन, सार्वजनिक–निजी साझेदारी (PPP) मोडललाई प्रभावकारी बनाउन तथा बोर्डभित्र देखिएका विकृति हटाउनुपर्ने सुझाव पनि ध्यानाकर्षणपत्रमा समावेश छ।
यसैगरी, विकासका नाममा पुराना पदमार्ग नष्ट नगरी नयाँ वैकल्पिक पदमार्गको विकास गर्न, ढोरपाटन, सिस्ने–मार्सी हिमाल, जलजला–ढोरपाटन, फेवा–रानाबन तथा पञ्चासे क्षेत्रका पदमार्गको संरक्षण र प्रवर्द्धन गर्न टानले माग गरेको छ। लमजुङसहित विभिन्न जिल्लाका पर्यटकीय गन्तव्यमा हेलिट्रेल र नयाँ ट्रेकिङ रुट विस्तार गर्नुपर्ने सुझाव पनि दिइएको छ।
ध्यानाकर्षणपत्रमा स्थानीय तहले पदमार्ग क्षेत्रमा लिने दोहोरो शुल्क हटाउन, पर्यटनसँग सम्बन्धित सम्पूर्ण सेवा ‘वन डोर सिस्टम’ मार्फत उपलब्ध गराउन तथा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा ब्रान्डिङ र डिजिटल माध्यमबाट प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
टान गण्डकीले पदयात्रा पर्यटनका विद्यमान समस्याको समयमै समाधान भए नेपाललाई सुरक्षित, व्यवस्थित र आकर्षक पदयात्रा गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्दै सुझाव कार्यान्वयनका लागि सरकारसँग पहल गर्न आग्रह गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।