नेल्टा कास्की र कालिका क्याम्पसबीच शैक्षिक अभिवृद्धिका लागि समझदारी


     एभरेस्ट आवाज    
     असार २४ गते २०८३ मा प्रकाशित




नेपाल अंग्रेजी भाषा शिक्षक संगठन कास्की र कालिका बहुमुखी क्याम्पसबीच प्राज्ञिक तथा शिक्षण दक्षता अभिवृद्धिका लागि समझदारी भएको छ ।

क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच नेल्टा कास्कीका अध्यक्ष भूमिराज पण्डित र कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक विरन्जी गौतमले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको अंग्रेजी भाषा शिक्षण दक्षता अभिवृद्धि गर्न नेल्टा कास्कीले विशेष प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ। उक्त तालिम कार्यक्रमहरू प्रत्येक वर्ष कालिका बहुमुखी क्याम्पसको आर्थिक सहयोग र नेल्टा कास्कीको प्राविधिक तथा व्यवस्थापकीय नेतृत्वमा आयोजना हुने समझदारी भएको छ।

कार्यक्रममा बोल्दै कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गौतमले नेल्टा जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा क्याम्पस परिवार निकै हर्षित रहेको बताए। उनले यस सहकार्यले क्याम्पसका विद्यार्थी र भावी शिक्षकहरूको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समेत ब्यक्त गरे । नेल्टा कास्कीका अध्यक्ष पण्डितले हाल शिक्षण क्षेत्रमा दक्ष र तालिमप्राप्त शिक्षकहरूको अभाव खड्किरहेको अवस्थामा यो कदम निकै फलदायी हुने बताए । उनले यस समझदारीले शिक्षकहरूको व्यावसायिक क्षमता बढाउनुका साथै दुवै संस्थाबीचको शैक्षिक गुणस्तर र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेल्टा कास्कीका उपाध्यक्ष बोधराज गौतम, सचिव डिल्लीराम भट्टराई र कोषाध्यक्ष मदनप्रसाद बराल लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।