मगर समुदायद्वारा कौराहा संस्कृतिलाई राष्ट्रियस्तरमा सुचीकृत गर्न माग


     एभरेस्ट आवाज    
     असार २६ गते २०८३ मा प्रकाशित




मगर समुदायले मौलिक रुपमा रहेको कौराहा संस्कृतिलाई राष्ट्रियस्तरमै सुचीकृत गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको सहयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको मगर मौलिक कौराहा संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले मगर समुदायले आफ्नो कला र संस्कृतिलाई संरक्षणका लागि भुमिका खेल्नुपर्नेमा जोड दिए । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैका मगरले विभिन्न जातजातिले आफ्नो संस्कृतिलाई हाम्रो भनेर दावी गरिरहँदा हामी आफैले पनि आफ्नो संस्कारलाई विर्सिन नहुने बताए । कौराहा मगरको भएको र यसको उत्पति मगर समुदायबाट भएकाले अबको पालोमा राष्ट्रिय तहमा सुचीकृत गर्नु आवश्यक रहेकोमा उनले जोड दिएका छन् । ‘हामीले सुचीकरण नगरेको खण्डमा अन्यले हक जमाउन सक्छन्, तर यो विषयमा सरकारले पनि ध्यान दिएको छैन ।’ उनले भने, ‘यसका लागि हामी र हाम्रो समुदाय आफै एकजुट भएर लाग्नु आजको आवश्यकता हो ।’ आफ्नो संस्कार र संस्कृतिलाई जोगाउन उनले सबैलाई आग्रह गरेका छन् ।

नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगरले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कौराहा नृत्य मगर समुदायको निकै महत्वपूर्ण रहेको बताए । कौराहाको इतिहास कार्यपत्रमार्फत् प्रस्तुत गर्दै उनले आफ्नो संस्कार र संस्कृतिलाई भूल्न नहुने बताएका थिए । कौराहा जिल्ला र स्थान अनुसार फरक भएपनि संस्कार र संस्तृति एउटै भएको उनको भनाई छ । ‘मगर भाषाको शब्द कानराहाबाट कौराहा शब्द बनेको हो ।’ उनले भने, ‘तर कौराहा एउटा सागर हो यसको गरिराई नाप्न सकिन्न र यसको बयान गर्न कुनै शब्द छैन ।’ मगर समुदायको बसोबास बढी भएको स्थानमा यो नृत्य प्रचलित रहेको उनले कार्यक्रममा बताए । कौराहा नाच्ने समय माघेसक्रान्तिदेखि साउने सक्रान्तिसम्म भएको उनको भनाई छ । ‘कौराहा मगर समुदायबाट प्रचलित भएपनि अन्य समुदायले समेत हाल अनुसरण गर्दै गइरहेको छ, यो हाम्रो लागि गर्वको कुरा हो ।’ भाषिक उपाध्यक्ष आले मगरले कार्यक्रममा भने ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका विज्ञ समुहका संयोजक याम बहादुर आलेमगर कुनै पनि समुदायको अस्तित्व मेटाउनका लागि त्यसको संस्कार र संस्कृतिमा हमला गरे मात्रै हुने भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिए । आफ्नो इतिहास, संस्कार र संस्कृतिको संरक्षणका लागि समुदायगत रुपमा एकजुट भएर लाग्नुको अर्को विकल्प नभएको उनले कार्यक्रममा बताएका छन् । राष्ट्रियस्तरबाट आदिवासी जनजातिमाथि हमला भइरहेको अवस्थामा आफ्नो पहिचान जोगाउनु आजको आवश्यकता भएकोमा उनले कार्यक्रममा जोड ।

नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रीय सदस्य गीता रखाली मगरले र सञ्चालन संघका सचिव बलबहादुर रोका मगरले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।