कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापा मगर सम्मानित


     एभरेस्ट आवाज    
     असार २६ गते २०८३ मा प्रकाशित




‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर पुरस्कृत भएकी छिन् । नगद १५ हजार सहित सम्मानपत्र तथा घलेकीले पत्रकार थापामगर शुक्रबार सम्मानित भएका हुन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले आदिवासी जनजाति आफ्नो संस्कार र संस्कृतिलाई जगर्ना गर्दै लैजानुपर्ने बताए । गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसलाई थप प्रवद्र्धन गर्दै लैजानुपर्नेमा उनले जोड दिए । प्रदेशमा भएका संस्कार र संस्कति केवल गण्डकी प्रदेशमा मात्रै सीमित नभएर सुदुरपश्चिम सहित अन्य प्रदेशमा समेत चर्चित हुँदै गएकाले यसलाई थप फैलाउँदै लैजाने प्रदेश सहित आम जनमानसले समेत चासो दिनु आवश्यक रहेकोमा उनले उनले जोड दिए । आजको संविधानले आदिवासी जनजातिलाई धेरै स्थान दिएको समेत उनले बताए । अहिले केही व्यक्तिले संविधान ठीक छैन भन्ने भाष्य निर्माणमा लागिरहेको भएपनि त्यो सत्य नभएको उनको दावी छ । हालको संविधानले आम नागरिकलाई सबै किसिमका अधिकार प्रदान गरेकाले संविधान खारेजी हुनुपर्छ भन्ने भाष्य गलत भएको उनले बताए । ‘संविधानले हरेका नागरिकलाई बराबर अधिकार दिएको छ, संविधान गलत छ भन्ने भाष्य निर्माण गर्न नलागौं ।’ उनले भने, ‘समयलाई चिन्न नसेकेकोमा नेपाल पछाडि परेको हो, त्यसैले समयलाई चिन्न सिकौँ ।’

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षाबहादुर रैका मगरले आफ्नो समुदायको भाषा, संस्कृति, संस्कार लगायतका विषयमा कलम चलाएर पत्रकारहरुले योगदान पु¥याउनु आवश्यक भएको बताएका छन् । राष्ट्रिय जनगणना अनुसार तेस्रो समुदाय भएपनि केही कारणले गर्दा पछाडि परिरहेको गुनासो गरे । राज्यको वेवास्ताले गर्दा लाखौँ मगरहरु अहिले पनि पछाडि परिरहेकाले आफ्नो समुदायका लागि आफैँ एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले कार्यक्रमा बताएका छन् । गण्डकी प्रदेश सरकाररले मगर र गुरुङ्ग भाषालाई कामकाजी भाषाका रुपमा लागू गरेपनि कार्यान्वयन गर्न बाधा र अड्चन देखाइने उनले बताए ।
गण्डकी प्रदेशका प्रेस रिजिष्ट्रार बिमला भण्डारीले मिडियाको क्षेत्रमा महिलाको सहभागिताका विषयमा विषेश ध्यान दिनुपर्ने बताइन् । आदिवासी जनजातिका विषयलाई पत्रकारिताको क्षेत्रबाट पहिचान दिन र उनीहरुको इतिहासका विषयमा जनमानसका बीचमा लैजानु आजको आवश्यकता रहेको उनले बताएकी छिन् । आदिवासी जनजाति समुदायका महिला पत्रकारलाई प्रोत्साहन गर्न यस्ता पुरस्कारले निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । महिला पत्रकारका लागि प्रेस रजिष्ट्रार कार्यालयले समेत विषेश कार्यक्रम ल्याउन पहल गरिरहेको समेत उनले कार्यक्रममा बताएकी छिन् ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व मीना थापा मगरले सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा योगदान गर्न अझै हौसला मिलेको बताए । पत्रकारिताको क्षेत्रमा लागेर आफ्नो संस्कार र संस्कृतिको विषयमा शब्दमार्फत् योगदान दिन पाउनु आफ्नो सौभाग्य रहेको उनले कार्यक्रममा बताइन् । आगामी दिनमा समेत यही क्षेत्रलाई निरन्तरता दिएर अगाडि बढ्ने सम्मानित व्यक्तित्व थापाले बताएकी छिन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ्ग ‘सुमन’, निट डेन्टलका सञ्चालक वीरेन राना मगर लगायतले आ­आफ्नो मन्तव्य व्यक्त गरेका थिए । प्रतिभा छनौट समितिका संयोजक तथा फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरले सम्मानित व्यक्ति मीना थापा मगरको विषयमा बोलेका थिए । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आले मगर स्वागतले गरेकी थिइन् ।
कार्यक्रममा चाउथे कदम मार्ग इकाई समितिले मौलिक कौराहा नृत्य तथा मगर साँस्कृतिक संघका सदस्य रमेश थापा मगर लगायतले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । योभन्दा अगाडि यस पुरस्कारबाट कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, रुद्र श्रीष मगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।