पोखरा, असार २७ — तमु धिं नेपाल कास्की जिल्ला अन्तर्गत गठित तमु विद्यार्थी समिती कास्कीले शनिबार अभिभावक भेटघाट तथा प्रथम बैठक सम्पन्न गरेको छ।
पोखरा–९ नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अध्ययनशील बनाउनुका साथै तमु भाषा, कला, संस्कृति, पहिचान, अधिकार, एकता तथा नेतृत्व र क्षमता विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले अभिभावक भेटघाट आयोजना गरिएको समितिका अध्यक्ष सतिश गुरुङले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विद्यार्थीले पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्ने र त्यससँगै तमु पहिचानको संरक्षणमा सक्रिय हुनुपर्नेमा जोड दिए। उनले अनुशासित, जिम्मेवार र उत्कृष्ट विद्यार्थी बन्न आग्रह गर्दै तमु धिं नेपालले विद्यार्थीसहित सम्पूर्ण तमु समुदायको अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताए।
कार्यक्रममा तमु धिं नेपाल कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रीय युवा समितिका अध्यक्ष रमेश गुरुङ तथा अभिभावक धर्म गुरुङले विद्यार्थीहरू संगठित भई सामाजिक उत्तरदायित्वको भावना विकास गरिरहेको भन्दै आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा प्रथम भएकी समितिकी सक्रिय सदस्य मेग्मा गुरुङलाई सम्मान गरिएको थियो। साथै तमु धिं नेपाल कास्कीका प्रथम उपाध्यक्ष तथा मःम बोसका सञ्चालक यज्ञप्रसाद गुरुङले समितिलाई १० जोर नृत्य पोशाक र फुटबल पोशाक हस्तान्तरण गरे। त्यसैगरी तमु धिं नेपालका केन्द्रीय सहकोषाध्यक्ष सुबेदार तुलबहादुर गुरुङ र जिल्ला सदस्य रोशनी गुरुङले आर्थिक सहयोग प्रदान गरे।
बैठकले तमु धिं नेपाल कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङलाई प्रमुख सल्लाहकार रहने गरी सल्लाहकार समिति गठन गरेको छ। साथै संगठन, सांस्कृतिक, प्रशिक्षण र खेलकुद विभाग गठन गर्ने तथा अग्रजहरूसँग अन्तरक्रिया र तमु विद्यार्थी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको समितिका सदस्य सुमित गुरुङले जानकारी दिए।
समितिका अध्यक्ष सतिश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनुस्का गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन महिला सचिव सलिना गुरुङले गरेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २७ असार ।लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा…






