आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आचार्य विक्रम संवत १८७१ असार २९ गते र निधन १९२५ साल असोज ६ गते तनहुँकै सतीघाटमा भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको उपस्थितिमा २१३औं भानु जयन्ती मनाएको छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।पोखरामा पनि बिभिन्न साहित्यिक संघ संस्थाले भानु जयन्तीको अवसरमा कार्यक्रम गरिरहेका छन् ।जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान, पोखराले विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गर्नुभएको बताए । नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका भानुभक्त नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको उनको भनाई छ ।
‘भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभयो ।’ उनले भने – ‘भानुको योगदानले राष्ट्रिय एकता, सांस्कृतिक आत्मविश्वास र नेपालीपनको भावनालाई अझ बलियो बनाएको छ । आज विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले पनि नेपाली भाषा र साहित्यलाई जीवित राखिरहेका छन् । यो आदिकविको योगदानको निरन्तरता नै हो ।’
भानुले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोड्नुभएको हुँदा यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उनको भनाई छ । आजको पुस्ताले भानुभक्तलाई केवल पाठ्यपुस्तकभित्र सीमित राख्न नहुने बताउँदै, कृतिहरूलाई डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श र सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक रहेकोमा उनको जोड थियो । गण्डकी प्रदेश नेपाली भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले अत्यन्त समृद्ध प्रदेश रहेको बताउँदै उहाँले यस प्रदेशमा रहेका साहित्यिक संस्था, अनुसन्धान केन्द्र, शैक्षिक प्रतिष्ठान र स्रष्टाहरूले भाषा तथा साहित्यको संरक्षण र प्रवद्र्धनमा निरन्तर योगदान पुर्याइरहेकोमा खुशी पनि व्यक्त गरे ।
आयोजक भानु वाङ्मय प्रतिष्ठानले नेपाली भाषाको उन्नयन र सम्वर्द्धनका लागि नेपाली विषयमा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरी प्रेरणा जगाउने काम गर्दै आएकोमा आभार पनि व्यक्त गरे ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी…






