मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ ।अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो । सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन् ।
घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिए । “खोलाले सडक बगाएकाले अहिले गाडी चलेको छैन । अधिकांश पर्यटक आफ्नै साधन लिएर आएकाले अहिले बाटो खुल्ने प्रतीक्षामा बसिरहनुभएको छ । साना साधनका लागि वैकल्पिक सडकको खोजी गरिरहेका छौँ,” गुरुङले भने । मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरुलाई घान्द्रुकबाट–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट यात्रा गराउनका लागि अहिले बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक घुम्न गएका र एबिसी पदयात्रामा गएका पर्यटक समस्या परेपछि अहिले सडक खुलाउन स्थानीय प्रशासन, प्राविधिक टोली स्याउलीबजार पुगेको बताए । “समस्यामा परेका पर्यटकलाई वैकल्पिक सडक मर्मत गरेर आवतजावत गराउने कि भनेर छलफलमा छौँ । हाल पानी पर्न कम भएको र नदीको बहाव पनि घटेकाले सडक बगाएको स्थानमा एकतर्फी भए पनि यातायात चलाउन सकिन्छ कि भनेर प्रशासनसँग छलफल गरिरहेका छौँ,” गाउँपालिका अध्यक्ष केसीले भने ।
अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर ९एबिसी० र घोरेपानी–पुनहिल पदयात्राको प्रवेशद्वार पनि हो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी…






