भारती भवन माविमा पहिलो महिला प्रधानाध्यापक


     एभरेस्ट आवाज    
     असार ३१ गते २०८३ मा प्रकाशित




पोखरा १९ पुरञ्चौरमा रहेको भारती भवन माध्यमिक विद्यालयले इतिहास मै पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ ।

कास्कीका थोरै माध्यमिक विद्यालय, महिला नेतृत्वले हाकिरहेका बेला सो विद्यालयको प्रधानाध्यापकमा दीपाकुमारी पौडेल नियुक्त भएकी छन् ।विद्यालय स्थापनाको ७२ वर्षको इतिहासमा पहिलो महिला प्रअको रुपमा उनले कार्यभार सम्हालेकी हुन् । पौडेल लामो समयदेखि सो विद्यालयमा नेपाली विषय अध्यापनरत छिन् । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पौडेललाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरेको विद्यालयका भुपु विद्यार्थी समेत रहेका वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए । हालका प्रअ नेत्रबहादुर आले केही समयपछि नै अनिवार्य अवकासमा जान लागेकाले पनि समितिले प्रअको नेतृत्व पौडेललाई दिएको बताईएको छ ।

समितिका जेष्ठ सदस्य दानबहादुर भुजेलको अध्यक्षतामा बैठक बसेको थियो । विद्यालयले पौडेलको नेतृत्वमा शैक्षिक गुणस्तर अभिवृद्धिमा र भौतिक निर्माणमा थप फड्को मार्ने विश्वास लिएको जनाएको छ । त्यस क्षेत्रकै नमुना विद्यालयको रुपमा चिनिएको भारती भवनलाई थप उत्कृष्ट बनाउने जिम्मा पौडेलको काँधमा आएको छ ।करिब एक हजार विद्यार्थी अध्ययनरत सो विद्यालय २०११ सालमा स्थापना भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।