सन्देश श्रेष्ठ
पोखरा, असार ३१
कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन् र ओसारपसार गर्न निषेध छ । जथाभावी नदी तथा नदीजन्य पदार्थको जथाभावी उत्खनन् गर्दा हुनसक्ने विपदजन्य जोखिमलाई न्यूनिकण गर्ने उद्देश्यले जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य पदार्थको उत्खनन्मा ३ महिना रोक लगाएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको संयोजकत्वमा रहेको समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म ३ महिनाका लागि नदी तथा खानीजन्य पदार्थको रोक लगाएको छ ।
तर निषेधका बीच पोखरामा नदी तथा खानीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको छ । नियमित अनुगमनको अभावमा केहि व्यक्ति तथा कम्पनीहरुले अवैध रुपमा नदी दोहनलाई जारी राखेको पाइएको हो । खास गरेर सेती नदीमा अवैध उत्खनन् हुने गरेको देखिएको छ ।
अवैध रुपमा नदी तथा खानीजन्य पदार्थको अवैध उत्खनन् जारी रहेपछि कास्की प्रहरीले सकृयता देखाउन थालेको छ । यहि क्रममा कास्की प्रहरीले नदी तथा खानीजन्य पदार्थको अवैध रुपमा उत्खनन् गरिरहेका बेला ३ वटा टिप्परलाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले पोखरा–२५ हेम्जास्थित सेती नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरेको पाइएपछि ३ वटा टिप्परलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक बिरेन्द्र पासवानले जानकारी दिए ।
उनका अनुसार अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् गरिरहेका पोखरा–१९ लामाचौर बस्ने सुजन गुरुङले चलाएको ग.१ क. ४४७२, सिम्पानी बस्ने विकास घर्तीले चलाएको जिएए ००७६ र याम्दी बस्ने राजु मगरले चलाएको जिएए ०१२४ नं.का टिपरलाई गएराती नियन्त्रणमा लिईएका छन् । अवैध रुपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा पुगेको वडा प्रहरी कार्यालय बगरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी पासवानले बताए । ‘अवैध बालुवा उत्खनन्को खबर पाएपछि गएको प्रहरी टोली पुग्दा उत्खनन् गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।’ नियन्त्रणमा लिईएका टिपरलाई आवश्यक कारवार्हीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको उनले बताए ।
यसैबीच, पोखरा महानगरपालिकाले भने अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने व्यक्ति र सवारी साधनलाई सामान्य जरिवाना गरेर छाडेको छ । जोखिम र संकट निम्त्यानसक्ने भन्दै उत्खनन्मा रोक लगाइएका समयमा रातीको मौका छोपेर बालुवा उत्खनन् गर्ने तीन वटै सवारी साधन र त्यसका सञ्चालकलाइृ महानगरले जनही १५ हजारका दरले जरिवाना तिराएर छाडेको हो ।
रातारात अवैध रुपमा नदी तथा खानीजन्य पदार्थ उत्खनन् गर्ने व्यक्ति र सवारी साधनलाई महानगरले सामान्य जरिवाना तिराएर छाड्नु गम्भीर गल्ती भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति कास्कीका अध्यक्ष लीलाधर पौडेलले बताए । उत्खनन् गर्न पाईंदैन भन्ने थाहा हुँदाहुँदै पनि रातीराती गएर उत्खनन् गर्नु गम्भीर अपराध हो,उनले भने,‘त्यस्तो व्यक्तिलाई महानगरले सामान्य जरिवाना तिराएर छाड्नु अर्को गल्ती हो ।’ उनले पक्राउ गरेका व्यक्तिहरुबारे जिससलाई जानकारी गराउनुपर्ने र जिससकै सिफारिसमा कारवाही हुनुपर्नेमा महानगरले थाहा नै नदिई जरिवाना तिराएर छाडेकोप्रति आपत्तीसमेत जनाए । हामीलाई जानकारी नदिईनू तथा समन्वयसमेत नगर्नु बेठकी भयो,उनले थपे,‘उत्खनन् गर्न पाईंदैन भन्ने जान्दाजान्दै उत्खनन् गर्ने र ओसारपसार गर्नेलाई सामान्य जरिवाना तिराएर छाड्नु गलत हो र यो गम्भीर लापर्वाही हो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा,…





