जनकवि केशरी थापाको १ सय २ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईदैं


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०८३ मा प्रकाशित




जनकवि केशरी धर्मराज थापाको १ सय २ औं जन्मजयन्ती, बिभिन्न कार्यक्रम गरी मनाईदैं छ ।

लोक साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याएका जनकवि थापा वि सं १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मिएका थिए । नेपाली लोक साहित्यको सेवा र श्रीवृद्धिका लागि थापा स्वदेशमा मात्र नभई विदेशमा समेत पुगेका थिए ।लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक रचनामा आवाज भरेर पनि नेपाली लोक संगीतलाई विश्व माझ चिनाए । उनले लेखेको गण्डकीका सुसेली नामक कृतिमा गण्डकी क्षेत्रका विभिन्न ठाउँको ऐतिहासिक परिचय पाउन सकिन्छ ।जीवनको अधिकांश समय लोक साहित्य रचना एवम् खोजी कार्यमा विताएका थापाले साहित्यको सेवा गर्न पोखरामा शुक्ला साहित्य प्रतिष्ठानको समेत स्थापना गरे ।

जनकवि केशरीको स्मृतिमा प्रतिष्ठानले राष्ट्रिय पुरस्कार समेत संचालन गरिरहेको छ ।हरियो डाडा माथी हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन, प्रजातन्त्रको काफल जस्ता गीत गाएका थिए । वि.सं. २०१३ मा राजा महेन्द्रबाट जनकवि केशरी को उपाधि पाएका हुन् । उनले २०२५ मा मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार प्राप्त गरेका थिए भने २०५७ मा जगदम्बाश्री पुरस्कार र त्यसबाहेक २०२५ को इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०१३ र २०३१ मा शुभ राज्याभिषेक पदक, २०४१ मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक लगायतका विभिन्न सम्मान पाएका छन् ।

थापाको २०७१ असोज २८ गते काठमाडौ स्वयम्भु स्थित आफ्नै निवासमा निधन भएको थियो।थापाको बाटुलेचौरस्थित जन्मघरलाई कविकुञ्जका रुपमा विकास गरिएको छ । यद्यपी त्यसको व्यवस्थित विकास हुन भने सकेको छैन । जनकवि केशरी थापाको जन्मजयन्तीका अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले विशेष कार्यक्रमको आयोजना गरी उनको स्मरण गरेको छ ।प्रतिष्ठानले बाटुलेचौरमा गरेको कार्यक्रममा जनकवि केशरी थापाको व्यक्तित्व र कृतित्वको चर्चा गरिएको छ । कवि एवम् थापाका सुपुत्र कुञ्जराज थापाले लोक साहित्य र संस्कृतिको चर्चा गर्दै, यसको संरक्षण भएमात्र जनकविप्रति सच्चा स्मरण हुने बताए । धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले धर्मराज थापाको जन्मघरलाई कविकुञ्जको रुपमा विकास गरिएको बताए । उनले प्रतिष्ठानसँगको सहकार्यमा जनकवि केशरी थापाका अप्रकाशित कृति प्रकाशनसँगै यसको प्रवद्धन गरिने बताए । कार्यक्रममा थापाप्रति सर्मपित कविता बाचन गरिएको छ । कविहरु मातृकाप्रसाद ढुँगाना, छविलाल आचार्य, मदनराज थापा, ईन्दु भट्टराई ,प्रकाश भट्टराई, रिता काफ्ले र शिशिर उजाडले लोक साहित्यसँग सम्वन्धित कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य,प्रतिष्ठानका सल्लाहकार मदनराज थापा,पुर्व अध्यक्ष कुलबहादुर खत्री,जय मनकामना वचत तथा ऋण सहकारीका अध्यक्ष नवीन भण्डारी, जेष्ठ नागरिकका पूर्व कोषाध्यक्ष चित्रबहादुर थापालगायतले नेपाली साहित्यको विकासमा कवि थापाले पुर्याएको योगदानको चर्चा गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक गीता भण्डारीले स्वागत गरेको कार्यक्रममा संचालन सहसचिव संजय थापाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।