आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक गरिएको छ।
पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा चलचित्र कर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सार्वजनिक गरिएको ‘जुनी जाला’ गीतले गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा, संगीत र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । कार्यक्रममा प्रदर्शन गरिएको गीतलाई उपस्थित दर्शकले निकै रुचाएका छन् भने गीतको दृश्य, संगीत र सांस्कृतिक प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन् ।
गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत रहेको छ । राजबहादुर गुरुङ, सरुन गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले स्वर दिएको गीतमा चलचित्रका प्रमुख कलाकार दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, माया गुरुङ, विश्वास गुरुङ, पशुपति राई लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतको छायाङ्कन कास्कीको रमणीय गाउँ ताङतिङ मा गरिएको हो भने कोरियोग्राफी कमल गुरुङले गरेका छन् ।
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले ‘पेन्सन पट्टा’ गुरुङ समुदायको मौलिक जीवन, परम्परा र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको भए पनि यसको कथा सम्पूर्ण नेपाली दर्शकले आत्मसात गर्न सक्ने विश्वास व्यक्त गरे । गुरुङ समुदायको परिवेशमा आधारित भए पनि चलचित्रको भाव, कथा र सन्देश सबै समुदायका दर्शकलाई छुने गरी तयार गरिएको उनको भनाइ छ । उनले सार्वजनिक गरिएको ‘जुनी जाला’ गीतले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गर्दै चलचित्रको सफलतामा गीतले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे। गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारलाई अझ सशक्त बनाइने जानकारी पनि उनले दिएका छन् ।
चलचित्रकी निर्माता सपना गुरुङले चलचित्रको कथावस्तुले आफूलाई गहिरो रूपमा प्रभावित पारेपछि लगानी गर्ने निर्णय गरेको बताइन्। समाजको यथार्थ चित्रण गर्ने विषयवस्तु भएकाले चलचित्रप्रति आफ्नो विश्वास बढेको उल्लेख गर्दै उनले मौलिक संस्कृति झल्काउने गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गरिन्।कार्यक्रममा गुरुङ समुदायसँग आबद्ध विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले चलचित्र पेन्सन पट्टाले गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
यतिबेला निर्देशक माओत्से गुरुङ चलचित्रको प्रचारप्रसारमा देशका विभिन्न स्थानमा सक्रिय छन्। निर्माण टिमले गीत सार्वजनिक भएसँगै प्रचार अभियानलाई थप तीव्र बनाउने तयारी गरेको जनाएको छ। चलचित्रले गुरुङ समुदायको मौलिक कथा र सामाजिक यथार्थलाई नेपाली चलचित्रमार्फत दर्शकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले…





