पोखरा, साउन १
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसंगीतमा पुर्याउनुभएको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ ।
धर्मराज–सावित्री थापा प्रतिष्ठानले जनकविकेशरी थापाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले लोकगीतमै नेपालीपन देख्नुहुने थापाले लोक साहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा थापाले उल्लेखनीय योगदान पुर्याउनुभएको स्मरण गर्नुभयो ।
‘नेपाली लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक हुनुहुन्थ्यो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘उहाँले गाउँ–गाउँ पुगेर हराउन लागेका लोक धुन र भाकाहरू संकलन गर्नुभयो । उहाँका कालजयी सिर्जनाहरू आज पनि नेपाली मनमस्तिष्कमा उत्तिकै जीवन्त रहेका छन् । उहाँका गीतहरूमा देशप्रेम, प्राकृतिक सौन्दर्य र नेपाली समाजको वास्तविक तस्बिर झल्कन्छ ।’
नेपाली हुनुमा गर्व गर्ने र नेपाली माटोलाई माया गर्ने हरेक पुस्ताका लागि धर्मराज थापाका सिर्जनाहरू मार्गदर्शक रहेको प्रदेश प्रमुख भट्टको भनाई थियो । ‘आजको यो आधुनिक र पश्चिमा संस्कृतिले प्रभाव पार्दै गएको समयमा धर्मराज थापाजस्ता महान् साधकको योगदानलाई स्मरण गर्नु अझ बढी सान्दर्भिक भएको छ ।’ उहाँले भन्नुभयो ।
हाम्रो मौलिक लोक कला र संस्कृति नै हाम्रो पहिचान रहेको बताउँदै उहाँले थप्नुभयो – ‘हामीले केवल उहाँका गीत गाएर वा उहाँको सम्झनामा कार्यक्रम आयोजना गरेर मात्र उहाँप्रति सम्मान व्यक्त गरेको ठहरिँदैन । उहाँले देखाउनुभएको सांस्कृतिक संरक्षणको अभियानलाई निरन्तरता दिनु, लोकसाहित्यको अनुसन्धानलाई प्रोत्साहन गर्नु, युवा पुस्तालाई लोकसंस्कृतिसँग जोड्नु तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’
कुनै पनि राष्ट्रको वास्तविक पहिचान त्यसको भाषा, साहित्य, संस्कृति र लोकजीवनमा सुरक्षित रहेको हुन्छ भन्दै प्रदेश प्रमुख भट्टले ती सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने स्रष्टाहरू राष्ट्रका अमूल्य सम्पत्ति रहेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपाने लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा प्रतिष्ठानले लोक संस्कृति साहित्य पुरस्कारबाट विशिष्ट साधक विश्वप्रेम अधिकारी र लोकसंगीत पुरस्कारबाट भैरव सांस्कृतिक संरक्षण समिति पोखरालाई नगदसहित सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले…





