पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न २ चिनियाँ नागरिकसहित ९ जना पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८३ मा प्रकाशित




पोखरामा श्रृंखलाबद्ध रुपमा चोरी गर्ने ९ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्ला दिनमा पोखरामा चोरीका घटना बढेको गुनासो पछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनामा संलग्न ४ विदेशी सहित ९ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चीनको गोञ्जाउका वेन जिइ, सानडोङ्गका वाङ लियायिङ्ग,भारतको महाराष्ट्रकासोमनाथ हनुमंत जाधव, र उत्तर प्रदेशका राहुल निषाद रहेका छन् । त्यस्तै पोखरा १६ दिपका केशव पाइजा मगर, स्याङ्जा चापाकोटका राजकुमार वि.क, कास्कीको अन्नपुर्ण गाउँपालिकाका राजु के.सी भन्ने खिम बहादुर क्षेत्री,अर्घाखाँचीका अशोक पोख्रेल, बागलुङका अनिल वि.क रहेको कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले जानकारी दिए ।

उनीहरुको साथबाट ब्रासलेट १ थान, सुनका टुक्राहरु ५ थान,बिभिन्न ग्रामका ५ थान सुनका ढिक्का बरामद गरिएको छ । खानतलासीका क्रममा मोवाईल फोन ९ थान, स्मार्ट घडी १ थान, ल्यापटप १ थान र नगद २ लाख १ हजार २२० रुपैयाँ पनि बरामद भएको प्रवक्ता पासवानले बताए ।प्रहरीका अनुसार पछिल्लो समय पोखरा १८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरका सुनका गरगहना र नगद ७० हजार, छोरेपाटनका शिव प्रसाद बरालको घरबाट ०.५ तोला बराबरको सुनको गहना, नगद १, लाख ५० हजारसहित ल्यापटप र मोवाईल चोरी भएको थियो। त्यस्तै पोखरा १८ भकुण्डे स्थित गिरीधरी श्रेष्ठको घरबाट मोवाईल २ थान र १ तोला ५४ लाल बराबरको सुनको गरगहना, पोखरा ८ ज्ञानकुन्ज मार्ग स्थित मोहसिन खतामीको कोठाबाट मोवाईल १ थान र नगद २५ हजार, पोखरा ६ लेकसाईडस्थित हिरामणी लामिछानेको घरबाट आई फोन मोवाईल १ थान लगायतका सामानहरु चोरी भएको थियो ।

पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।