पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनहुँदै आएको निःशुल्क सटल बस सशुल्कमा परिणत


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०८३ मा प्रकाशित




पोखरा, साउन ५

पर्यटकको सहजताका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल अमरसिंहचोकसम्म सञ्चालनमा ल्याइएको निःशुल्क सटल बस सेवा बन्द भएको छ । पोखरा महानगरपालिकाले नेपाली नया वर्षको अवसरमा गत वैशाख १ गतेदेखि हवाई यात्रुको सहजताका लागि सञ्चालनमा ल्याएको निःशुल्क सटल बस सेवा ३ महिनामै असार मसान्तबाट बन्द भएको हो । निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सञ्चालनमा ल्याएको छ । तर यो सेवा पनि लामो समय जाने नजाने अनिश्चित देखिएको छ ।

पोखरा महानगरपालिकाले काठमाडौं महानगर यातायात प्रालिसँगको सहकार्यमा ३ महिने सम्झौता गरेर निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको थियो । कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा तामझामका साथ शुरु भएको निःशुल्क बस सेवा असार मसान्तबाट बन्द भएको छ । सम्झौता सकिएसँगै सेवा बन्द गरेर बसहरु काठमाडौं फिर्ता गरिएको काठमाडौं महानगर यातायात प्रालिले जनाएको छ ।

निःशुल्क बस सेवा सञ्चालन गरेको सो प्रालिले ३ महिनामा ८ लाख ५० हजार सञ्चालन खर्च वापत बुझेको छ । बसका लागि दुई बैंक र आवश्यक तेल र चार्जिङ खर्च महानगरले छुट्टै बेहोरेको बुझिएको छ ।

निःशुल्क बस सेवा बन्द भएसँगै सो रुटमा पोखरा बस सञ्चालक कम्पनीका दुई वटा बसहरु सशुल्क सञ्चालनमा आएका छन् । एउटा डेढ करोड पर्ने विद्युतीय बस र अर्को आधा करोड पर्ने डिजेल बस सशुल्क रुपमा सञ्चालनमा आएको पोखरा महानगरपालिकाले जनाएको छ । ती बसहरुमध्य एउटा विमानस्थलबाट पृथ्वीचोक, विरौटाहुँदै लेकसाईड वाराहीघाटसम्म र अर्को विमानस्थलबाट पृथ्वीचोक, जिरोकिलोमिटर चोकहुँदै लेकसाईडस्थित हल्लनचोकसम्म सञ्चालन भइरहेको छ । दुबै रुटमा एकतर्फी एक सय रुपैयाँ भाडादर कायम गरिएको कम्पनीका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिए ।

शुरुवातमा परीक्षणका रुपमा ३ महिना निःशुल्क बस सञ्चालनमा ल्याइएको र सम्झौता अनुसार नै ती बसहरु फिर्ता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनाएका छन् । शुरुवातमै हामीले ३ महिनाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भनेका थियौं,उनले भने,‘निःशुल्क बस सेवा सशुल्कमा परिणत भएको हो, सेवा स्थगित भएको छैन ।’ यो दीगो रुपमा सञ्चालन हुने मेयर आचार्यको दाबी छ ।

तर पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले भने सशुल्क बस सेवा पनि अनिश्चित हुनसक्ने औंल्याएको छ । विमानस्थल आवतजावत गर्ने यात्रु अभावका कारण सशुल्क बस सेवा लामो समय जानसक्ने अवस्था नदेखिएको कम्पनीका अध्यक्ष गुरुङले बताए । हामीले महानगरको आग्रह अनुसार सेवा शुरु गरेका छौं,उनले भने,‘तर विमानस्थलबाट आउजाउ गर्ने यात्रु नै न्यून छ । महङ्गो गाडी र महङ्गो तेल खर्चिएर यति न्यून संख्याको यात्रु बोकेर लामो समय चलाउन सकिदैन ।’

अध्यक्ष गुरुङका अनुसार विमानस्थलबाट वाराहीघाट र हल्लनचोक दुबै रुटमा एकतर्फी एक सय रुपैयाँ भाडादर कायम भए पनि यात्रु भने दिनभरीमा १५–२० जना पनि पुग्दैनन् । सो रुटमा चल्ने बसले यात्रु अभावमा दैनिक १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म मात्रै भाडा संकलन गर्ने गरेको उनको भनाई छ । प्रति बस मासिक झण्डै डेढलाख खर्च आउने भए पनि हाल ५० हजार पनि नपुग्ने भएकाले बाँकी खर्च समितिले व्यहोर्नेगरी बस सञ्चालन भइरहेको उनले जानकारी दिए ।

तर यात्रु अभाव भइरहे दीर्घकालीन रुपमा बस सञ्चालन गर्न गाह्रो हुने उनले बताए । अहिले ३२ सिटे महङ्गा गाडीको ठाउँमा १६ सिटे सस्ता गाडी सञ्चालन गरेर भए पनि चलाउने कि भन्नेबारेमा छलफल भइरहेको उनले बताए । ‘घाटा खाएर चलाई राख्ने कुरा भएन, कसरी चलाउन सकिन्छ भन्नेबारेमा विभिन्न विकल्पबारे छलफल भइरहेको छ’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।