शिशिर उजाड
पोखरा
बिम्बकवि रमेश श्रेष्ठ हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् ।
हेमजा साहित्य प्रतिष्ठानले स्थापन गरेको सो पुरस्कार पहिलो पटक पोखरेली कवि एवं कलाकार श्रेष्ठलाई प्रदान गरिएको हो । प्रतिष्ठानले शुक्रबार हेमजामा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपानेले सो पुरस्कार बिम्बकवि श्रेष्ठलाई अर्पण गरे । पुरस्कारको राशी नगद २१ हजार, दोशल्ला र सम्मानपत्र छ ।सोही अवसरमा प्रतिष्ठानले नै स्थापना गरेको शुभप्रभात काव्यमाला पुरस्कार पनि गन्धर्व सारङ्गी पाठशाला हेमजालाई प्रदान गरिएको छ । सो पुरस्कार पाठशालाका संरक्षक समरबहादुर गायकलाई प्रदान गरियो ।कार्यक्रममा प्रतिष्ठानका कुलपति न्यौपानेले गण्डकी क्षेत्र साहित्य,कला र संस्कृतिको अनुपम स्थल रहेको बताउँदै, यस क्षेत्रका बिभिन्न आयामको खोज तथा अनुसन्धानमा प्रतिष्ठान क्रियाशील रहने बताए । उनले आफु जनताबाट अनुमोदित कुलपति बन्ने प्रयासमा लागेको दावी गर्दै, भाषा, संस्कृतिका ५० भन्दा बढी ग्रन्थ प्रतिष्ठाकै सक्रियतामा प्रकाशन गर्ने तयारी भईरहेको जानकारी दिए । सम्मानित श्रष्ट्रा बिम्बकवि रमेश श्रेष्ठले साहित्यको उर्वरभुमिबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताए ।
उनले साहित्य र कलाको क्षेत्र विशाल रहेको बताउँदै, यसको संरक्षण र विकासमा सबै पक्षको भुमिका महत्वपुर्ण हुनेमा जोड दिए । श्रष्ट्राको परिचय प्रतिष्ठानका संरक्षक एवं छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेलले गराएका थिए । प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ कमल पौडेल ‘अथक’, पोखरेली युवा सांस्कृतिक परिवारका उपाध्यक्ष लक्ष्मण थापा, शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतम, सिर्जना साहित्य सदनका अध्यक्ष शिव पोखरेललगायतले साहित्यका बिबिध पक्षको चर्चा गरेका थिए । प्रतिष्ठानका परिकल्पनाकार, संस्थापक सचिव कोविदशरण उपाध्यायले दोस्रो हेमजा साहित्य महोत्सव आगामी मंसीरको पहिलो साता गरिने जानकारी गराए । सो अवसरमा कवि नारायण बास्तोला, चन्द्रावती वाग्ले, आभाष शर्मा, धर्मराज पौडेल ‘अल्पायु’, भजन गायक भरतचन्द्र गौतम सहितका श्रष्ट्राले रचना वाचन समेत गरेका थिए ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष बलराम पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन कोषाध्यक्ष सोमनाथ गौतमले गरेका थिए । बिम्बकविका रूपमा सुपरिचित नेपाली कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिन्छन् । लोकनृत्य, गाईजात्रा, बाघजात्रा भैरवनृत्य संरक्षणमा चार दशक आफूलाई समर्पित गराएका उनका दर्जन चर्चित कविता कृति प्रकाशित छन् । वाङ्मय क्षेत्रमा समर्पित श्रेष्ठसँग नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा रहेर सेवा गरेको अनुभवसमेत छ । उनी यस अघि दर्जन बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान, पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


साउन ९ गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ । गण्डकी प्रदेश…





