पोखरा, साउन ८
गण्डकी प्रदेशमा राईड सेयरिङका लागि ५ कम्पनी पञ्जीकृत भएका छन् । गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली ल्याएर कम्पनी दर्ताको बाटो खुल्ला गरेपछि यी कम्पनीहरुले दर्ताका लागि निवेदन दिएका छन् । पञ्जीकृत भएका ५ कम्पनीमध्य एउटा कम्पनीले ईजाजत नै पाइसकेको यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कार्यालयका अनुसार सवारी सेवा नेपाल प्रालिले ईजाजत पाइसकेको छ । यस कम्पनीले २० वटा दुुई पाङ्ग्रे सवारी साधन आबद्ध गराएर सेवाका लागि निवेदन दिएअनुसार ईजाजत दिइएको कार्यालयले जनाएको छ ।
बाँकी इकोमो नेपाल, जेम्स ग्रीन इलेक्ट्रो मोविलिटी सर्भिस र मुभ इन नेपाल प्रालिले पञ्जीकरणका लागि निवेदन दिएका हुन् । पञ्जीकरण भएका चार कम्पनीले मापदण्ड अनुसारका डकुमेन्ट ल्याएपछि ईजाजत प्राप्त गर्ने कार्यालय प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए । ‘पञ्जीकरणका लागि निवेदन दिएकाहरुले डकुमेन्ट ल्याउन बाँकी छ । डकुमेन्ट ल्याएर निवेदन दिएपछि उनीहरुले पनि ईजाजत प्राप्त गर्नेछन् ।’
गण्डकीमा राइड सेयरिङ दर्ताका लागि अन्र्तराष्ट्रिय कम्पनीहरुले भने निवेदन दिएका छैनन् । पठाओ, ईनड्राइभ, याङ्गोलगायतका अन्र्तराष्ट्रिय कम्पनीहरुले पञ्जीकरण र ईजाजतका लागि निवेदन दिइनसकेको कार्यालय प्रमुख शर्माले बताए । पञ्जीकरण र ईजाजतका लागि निवेदन दिन हामीले उनीहरुलाई भनिसकेका छौं,उनले भने,‘अनौपचारिक छलफल भइरहेको छ तर दर्ताकै लागि भने आइसकेका छैनन् ।’
पञ्जीकरणका लागि साउन १५ गतेसम्म म्याद रहेको कार्यालयले जनाएको छ । एक हप्ताको समय मात्र बाँकी रहँदा पनि राइड सेयरिङका लागि ठूला कम्पनीहरु दर्ताका लागि नआएका हुन् । साउन १५ गतेसम्म दर्तामा नआए ती कम्पनीहरुबाट सञ्चालित राईड सेयरिङ सेवा सञ्चालनमा रोक लगाईने उनले बताए । नियमावली अनुसार दर्ता नभई सञ्चालनमा आएका कम्पनीलाई जरिवाना लगाईन्छ,उनले भने,‘त्यसपछि उनीहरुले दिने सेवामा रोक पनि लगाईन्छ ।’ उनका अनुसार दर्ता नभएका कम्पनीबाट सञ्चालित सवारीले सेवा दिएको पाइएमा कम्पनीलाई पहिलो पटक एक लाख जरिवाना लगाईन्छ भने दोस्रो पटक भेटिएमा त्यसको दोब्बर जरिवाना लाग्नेछ ।’ उनले सेवा दिने सवारी साधनलाई पनि दुई पाङ्ग्रे सवारी साधनलाई ५ हजार र चार पाङ्ग्रे सवारीलाई १० हजार जरिवाना तोकिएको छ ।
गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६, राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ तथा गण्डकी प्रदेश आर्थिक ऐन २०८३ बमोजिम राइड सेयरिङ सेवाको व्यवस्था गरेर राईड सेयरिङ र सेल्फ ड्राइभलाई वैधानिकता दिएको छ । नेपालमै पहिलो पटक बनाइएको राईड सेयरिङ नियमावली अनुसार दुई पाङ्ग्रे सवारीका लागि दर्ता गर्न २५ हजार, चार पाङ्ग्रे सवारीका लागि ५० हजार र दुवै प्रकारको सेवा दिने कम्पनी दर्ताका लागि ७० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसबाहेक दुई पाङ्ग्रे सवारी दर्ता गर्न प्रति सवारी २ हजार ५ सय र चार पाङ्ग्रे सवारीका लागि प्रति सवारी १० हजार शुल्क निर्धारण गरिएको छ ।
तर सार्वजनिक सवारी साधनका रूपमा सञ्चालन भइरहेका सवारीसाधनहरु दर्ताका लागि ५० प्रतिशत छुटमा दर्ता गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख शर्माले जानकारी दिए । उनीहरु तत्काल राईड सेयरिङ एपमा आबद्ध नभई सञ्चालन भएको खण्डमा पछि कुनै पनि समयमा आबद्ध हुन पाउने व्यवस्था गरिएको छ । एउटा सवारी साधन कुनै एउटा एपमा मात्रै आबद्ध हुन पाउने नियम रहेको छ भने राइड सेयरिङमा आबद्ध राइडरले दैनिक १२ घण्टा मात्रै सेवा दिन पाउनेछ र यसको व्यवस्था एप प्रणालीमै मिलाउन भनिएको छ । दुई पाङ्ग्रे सवारी साधनले यात्रु बोक्दा चालकसँगै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यो यात्रु सुरक्षाको लागि हो,उनले भने, ‘त्यसबाहेक यात्रु वीमा, तेस्रो पक्ष वीमा र चालक वीमा अनिवार्य हुनुपर्नेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२औं लेखनाथ महोत्सव आगामी पुस २…







