सन्देश श्रेष्ठ
पोखरा, साउन ८
विदेश घुम्न लैजाने भन्दै ठगी गर्ने पोखरा–५ पस्र्याङस्थित ओएसिस कम्पनीमा प्रहरीले छापा मारेको छ । सस्तो रकममा दुबई, सिंगापुर, मलेसिया, थाईल्याण्डलगायतका देश घुम्न लैजाने भन्दै रकम ठगी गर्ने ओएसिस कम्पनीमा कास्की प्रहरीले शुक्रबार छापा हानेको हो । वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले छापा हान्ने क्रममा ओएसिस कम्पनीका २ सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन । छापा हान्ने क्रममा ओएसिस कम्पनीले प्रयोग गर्नेगरेको कम्प्युटरलगायतका सामग्रीसमेत बरामद गरिएको डिएसपी भट्टराईले जानकारी दिए । सो कम्पनीमा कार्यरत २० जना कर्मचारीलाई भने प्रहरीले सम्झाईबुझाई छाडेको छ ।
विदेश घुम्न लैजानेभन्दै ओएसिसले विभिन्न अफरहरु दिने गरेको थियो । सो क्रममा सम्पर्कमा आएकाहरुलाई किस्तामा रकम बुझाएर विदेश लगिदिने आस्वासन दिने गर्दथ्यो । तर २ वा ३ किस्ता बुझाएपछि भने कम्पनी नै बन्द गरेर सञ्चालक भाग्ने गरेको खुल्न आएपछि छापा मारेर पक्राउ गरिएको डिएसपी भट्टराईले जानकारी दिए । विदेश घुम्न लैजाने बहानामा रकम असुल्ने रहेछन्,उनले भने,‘तर पैसा बुझाएपछि भने सञ्चालक फरार हुने रहेछन् ।’ उनले सुराकीका आधारमा छापा मारेर २ जना सञ्चालकलाई पक्राउ गरिएको बताए । अन्य २ जना सञ्चालक भने फरार रहेको उनको भनाई छ ।
यसैबीच, ओएसिस रहेकै भवनको पाचौं तलामा जुवा खेल्दै गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । ओएसिसमा छापा हान्न गएको प्रहरी टोलीले नै उनीहरुलाई तास खेलिरहेका बेला पक्राउ गरेको हो । नगद करीब २५ हजारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ८ विदेश घुम्न लैजाने भन्दै ठगी गर्ने पोखरा–५ पस्र्याङस्थित…





