पोखरा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढ्दै, नेतृत्वका लागि हालसम्म ३ जना आकांक्षी


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८३ मा प्रकाशित




आगामी भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनसँगै चुनावी सरगर्मी पनि बढ्दैं गएको छ ।

संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक साधारणसभाको मिति तय भएसँगै नयाँ नेतृत्वका लागि हानथाप सुरु भएको हो । संघको नेतृत्वका लागि हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।महाधिवेशन आउन करिब डेढ महिना बाँकी रहँदा आकांक्षीको संख्या थप बढ्न सक्ने बताईएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष बुद्धाचार्यले लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र व्यावसायिक संघ संस्थामा सक्रिय रहेको अनुभवका आधारमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी संघमा कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

यस्तै वर्तमान महासचिव शोभा गौतमले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । संघको विभिन्न उपसमिति, कार्यसमिति सदस्य र उपमहासचिव हुँदै महासचिवसम्मको सांगठनिक अनुभव उनीसँग छ । यसैगरी संघको आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष बलराम आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । पोखरामा लामो समयदेखि व्यवसायमा संलग्न आचार्य एक दशकभन्दा लामो निरन्तर अनुभव, व्यवसायीहरुको आग्रह र लगनशीलताका कारण आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए ।

पोखराका उद्योगी, व्यवसायीको छाता संस्था भएकाले पनि यो महाधिवेशन र अध्यक्षका आकांक्षीहरुलाई निकै चासोका साथ हेरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।