चापाकोटको पर्यटन विकासमा, स्वतन्त्र पत्रकार संघको चासो


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं.२३ चापाकोटले घरबास कार्यक्रमलाई स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य लिएको छ ।

पोखरा –२३ को आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपालसँगको सहकार्यमा चापाकोटमा आयोजित पर्यापर्यटनको सम्भावना र प्रवर्द्धनका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले पोखराको धरोहरका रुपमा रहेको फेवातालको मुहान यसै क्षेत्रमा पर्ने उल्लेख गर्दै वडाभित्रकाप्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिएका हुन् । वडाध्यक्ष रामकाजी गुरुङले यस आर्थिक बर्षका लागि विभिन्न योजना अघि बढाइएको जानकारी दिँदै घरबास कार्यक्रमलाई प्राथामिकतामा राखिएको बताए । उनले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने गरी होम स्टेलाई प्रर्वद्धन गर्ने लक्ष्य रहेको स्पष्ट पारे। महानगरभित्रै भएपनि विकास निर्माणका दृष्टिले यस वडा विकट रहेको उनको गुनासो छ ।

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पोखरा भित्रिने पर्यटकलाई यहाँसम्म ल्याउन पनि पर्यापर्यटनको विकास हुनुपर्नेमा जोड दिए । उनले ग्रामिण परिवेशमा घरबास कार्यक्रम नै उपयुक्त हुने बताए । संघ नेपालका सचिव कल्याण पन्त ले ‘पोखरा–२३ को पर्यापर्यटनको सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै वडामा प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यापर्यटन विकास गर्न सकिने उल्लेख गरे । उनले घरबास कार्यक्रम मार्फत स्थानीयबासीको जीवनस्तरमा सुधार ल्याउन सकिने बताए । अग्रज पत्रकार नारायण कार्कीले पर्यटन विकासका लागि यसको योजनाबद्ध विकास आवश्यक रहेको धारणा राखे ।

सो अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालद्वारा प्रकाशित स्मारिकाको समेत विमोचन गरिएको थियो। वडा सदस्य तेजबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघ कास्कीका अध्यक्ष डिल्लीराम काफ्ले र संचालन केन्द्रिय सदस्य कृष्ण रानाभाटले गरेका थिए । स्वतन्त्र पत्रकार संघ, कास्कीको व्यवस्थापनमा भएको कार्यक्रममा संघका केन्द्रिय र जिल्ला तहका पदाधिकारी र सदस्यहरु सहभागी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।