फिर्केमा डोजर : कोतरेर छाडिएको संरचना अझै हटेनन्, नागरिक समाज पोखराले औंल्यायो नहटाउनुको कारण


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, साउन १०

पोखराको फिर्केखोलामा जेठ दोस्रो साता डोजर चल्यो । पोखरा महानगरपालिकाले फिर्केखोला करिडोर निर्माण गर्ने र त्यसका लागि फिर्केखोलाको खोलाघर मिचेर बनाइएका अवैध संरचना भत्काउने भन्दै जेठ १० गतेदेखि एक हप्तासम्म डोजर चलाइयो । डोजर चलाउने अभियानको शुभारम्भ गर्दै पोखराका मेयर धनराज आचार्यले फिर्के करिडोरमा पर्ने फिर्केखोला खोलाघर मिचेर बनाइएका संरचना भत्काएर मात्रै विश्राम लिने गर्जन गरे ।

तर डोजर चलाउने शुभारम्भ गरेर मेयर आचार्य विदेश हानिए । यता अवैध संरचना पूरै खाली गर्न चलाइएको डोजर भने संरचना भत्काउनुको सट्टा कोतर्दै हिंड्यो । कोतरेर छाडेको संरचना घरधनी आफैले भत्काउने भन्दै मेयर आचार्यले ढाँटे । स्थानिय सरोकारवालाले पत्याईदिए । तर एक हप्ता भित्रैमा फिर्के खोलाघरका संरचना हटाईसक्ने भनेर गरिए पनि दुई महिना बित्दासमेत कोतरेर छाडिएको संरचना नभत्किएपछि नागरिक समाज पोखराले खबरदारी गर्न शुरु गरेको छ ।

महानगरले फिर्के खोलाघरमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी गरेर कुल १६० वटै संरचनामा डोजर चलाएको जनाएको थियो । तर महानगरले चलाएको डोजरले कोतरेर छाडेकामध्य लायन्स क्लवको भवन र लिटिल स्टेप माविको भवन मात्रै पूर्ण रुपमा हटाइएको छ । बाँकी सबै संरचना कोतरेर मात्रै छाडेको पाइएको नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले बताए । उनले भने,‘महानगरले डोजर चलाएजस्तो गरेर आँखामा छारो मात्रै हालेको रहेछ ।’

महानगरले चलाएको डोजरले कोतरेर छाडेका पोखरा–४ स्थित पस्र्याङ पुलदेखि पश्चिमतर्फको खोलाघरमा बनेका सुकुमबासी टहराहरु जस्ताकातस्तै छन् । खोलाघरमै अतिक्रमण गरेर बनाइएको रिटेनिङ पर्खालसमेत नभत्काई छाडिएको पाइएको संस्थापक अध्यक्ष पौडेलले बताए । त्यस्तै, पस्र्याङ पुलदेखि पूर्वपट्टी रहेको रातोघरलगायत भयँरथानसम्मको खोलाघरमा बनेका संरचना पनि नभत्काई छाडिएको छ,उनले भने,‘जसका कारण सो घरमा बस्दै अएकाहरु पुनः त्यहिं पुनःस्थापित भएका छन् ।’ त्यसबाहेक यहि वडामा पर्ने साविकको स्काउट कम्पाण्डदेखि एक सय मिटर उत्तरतर्फ रहेको भयँरथान नजिक बनाइएको पक्की घर, सोहि स्काउट कम्पाउण्डदेखि दक्षिणतर्फ रहेका घर टहराहरु पनि यथावत रहेका छन् । ‘फिर्के खोलाघरमा पर्ने यी घर टहरा पटक/पटक डुवानमा पर्दै आएका छन् तर महानगरले कोतरेर मात्रै छाड्दा त्यहाँ बस्नेहरु पनि जोखिममा छन्’–उनले भने ।

वडा नम्बर ५ मा पर्ने स्काउट कम्पाण्डदेखि एक सय मिटर उत्तरतर्फका भवनहरु, दक्षिणतर्फका संचरनाहरु, रेडियो नेपालको कार्यालयदेखि दक्षिणतर्फ रिठेगौंडा खोलाघरमा बनाइउका संरचनाहरु, रेडक्रस कास्कीको कार्यालय पुलदेखि १० मिटर दक्षिणतर्फका २ वटा भवन, पोखरा ईञ्जिनियरिङ कलेजको भवनदेखि उत्तरपश्चिमतर्फका ५ वटा भवन भत्काइएका छैनन् । जहाँ पुनः बसोबास गर्न थालेका छन्,पौडेलले भने,‘जिल्ला रेडक्रस जोड्ने पुलदेखि दक्षिणतर्फका भवन त मिलेमतोमै जोगाएको देखिन्छ ।’

पोखरा–८ स्थित बगालेटोल सामुदायिक भवन, सोंपाल तमु समाज, रेडियो नेपालको कार्यालय पूर्वपट्टीको खोलाघरबाटै उठाइएको संरचना, सशस्त्र प्रहरी बल कालिका गौंडादेखि पूर्व पट्टी (फिर्के खोलापारी) रहेको मगर समाज घरलगायतका संरचनाहरु, बराल समाज घर (व्याडमिन्टन कोर्ट)समेत रहेको भवनसहित त्यसभन्दा उत्तरतर्फका ४ वटा भवनहरु, राधाकृष्ण मन्दिरदेखि एक सय मिटर दक्षिणका ३ वटा घर, पोखरा ईञ्जिनियरिङ कलेजको भवन, गहतेस्थित खोलापारीको नीलो टहरा र लिटिल स्टेप स्कुलको दक्षिणतर्फको संरचना नहटाइ छाडिएको छ ।

त्यस्तै, पोखरा–७ स्थित मासवार–रत्नचोक जोड्ने पुलदेखि उत्तरपूर्व खोलाघरमै बनाइएको १५ फिट लामो पर्खाल, गहतेस्थित खोलाघरमा पर्ने लिटिल स्टेप स्कुलदेखि उत्तरतर्फको संरचना र मालपोत कार्यालय नजिकैको कुखुरा घर रहेको भवनसमेत नहटाई छाडिएको छ । यसरी संरचना नभत्काई छाड्नुमा मेयर आचार्यसँगै वडाध्यक्षहरु पनि जिम्मेवार रहेको उनले बताए । हरेक वडाका संरचना भत्काउन पुग्दा वडाध्यक्षहरुले घरधनी आफैले भत्काउँछन् भन्दै कोतरेर छाड्न लगाए, उनले भने,‘वडाध्यक्षहरु भोटबैंक बिग्रिने डरले भत्काउन डराएका हुन् । कतैकतै त मिलेमतो पनि भएको छ ।’ उनले यसरी कोतरेर छाडिरहँदा मेयर आचार्य लाचार बनेर मुकदर्शक बनेको टिप्पणी गरे ।

त्यतिमात्र होईन, फिर्के खोलाघरमा भत्काइएका संरचना बगेर फेवातालसम्म नपुगोस् भनेर महानगरले ड्याम बनाउने घोषणा गरेको थियो । तर तिनै भत्काइएका संरचना फेवातालमा पुगेर कुरुप बनाउँदासम्म महानगरले चेकड्याम बनाउन ठाडो कान लगाएको छैन । यसमा पनि मेयर आचार्यले ढाँटेको नागरिक समाज पोखराको ठहर छ । भत्काएका संरचना बगेर जान नदिन महानगरले चेकड्याम बनाउने भनेको थियो,उनले भने,‘चेकड्याम त बनाएन नै, थुप्रिएको फोहोर फाल्नसमेत चासो दिएको छैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।