गुरु पुर्णिमाको अवसरमा विन्ध्यवासिनीका गुरुहरु सम्मानित,शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै सच्चा सम्मान: प्रदेश प्रमुख भट्ट


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०८३ मा प्रकाशित




गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, बाटुलेचौरले विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अध्यापन गराएका स्थापनाकाल देखि २०४० सालसम्मका गुरुहरुलाई एकै ठाउँमा सम्मान गरेको हो ।सम्मानित हुनेमा कर्मकुमारी गुरुङ, सुरेन्द्रराज रेग्मी, रुद्रनाथ पौडेल,भानुभक्त पौडेल,हरिलाल तिमिल्सीना,रुद्रमणि पराजुली, नरहरि भट्टराई,शिवप्रसाद पराजुली, बेनीबहादुर बस्नेत, एकनाथ गौतम, छविलाल आचार्य, कुलबहादुर बस्नेतसहितका १७ जनालाई सम्मान गरिएको मञ्चका पुर्व अध्यक्ष रामबहादुर बानियाँले जानकारी दिए । उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र मञ्चका अध्यक्ष हरिबहादुर वरुवालले दोसल्ला, सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा प्रदेश प्रमुख भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताए ।

उनले गुरु र शिष्यबीचको सम्बन्ध विश्वास, अनुशासन, सम्मान, समर्पण र चरित्र निर्माणको रहने पनि उल्लेख गरे । ‘अधिकांश महान् व्यक्तित्वका पछाडि कुनै न कुनै प्रेरणादायी गुरुको मार्गदर्शन रहन्छ । गुरुको सम्मान केवल एउटा दिवस वा कार्यक्रममा मात्र सीमित हुनुहुँदैन ।’ उनले भने – ‘गुरुहरूले सिकाएका आदर्शलाई व्यवहारमा उतार्नु, उहाँहरूप्रति सदैव आदर राख्नु र शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै वास्तविक सम्मान हो ।’

शिक्षक र विद्यार्थीबीचको सौहार्दपूर्ण सम्बन्ध, श्रद्धा, सम्मानले नै विद्यालयको गुणस्तर वृद्धिमा पनि भूमिका खेल्ने उनको भनाई छ ।कार्यक्रममा विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सम्मानित गुरु बेनीबहादुर बस्नेत, शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतलगायतले गुरुहरुले दिएको असल शिक्षा र संस्कारले नै समाज सभ्य बन्ने बताए । मञ्चका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सञ्जय बस्नेत र संचालन सचिव भीमबहादुर गायकले गरेका थिए ।

मञ्चले गुरु सम्मान कार्यक्रमलाई निरन्तरता दिने र आगामी बर्ष ४० सालपछिका गुरुलाई क्रमवद्ध रुपमा सम्मान गरिने जनाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।