पोखरा, साउन १३
गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३ हजार नाघेको छ । गण्डकीमा असार मसान्तसम्ममा १ हजार ३ सय ७ वटा रोजगारदाता कम्पनी आबद्धहुँदा ३३ हजार ३ सय ३३ जना योगदानकर्ता आबद्ध भएको सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश प्रमुख डि.पी. सुन्दर पराजुलीले जानकारी दिएका हुन् ।
गण्डकीमा गत वर्ष ४ सय ८ वटा रोजगारदाता संस्था थप भएका छन् भने ३ हजार ४ सय १ योगदानकर्ता थपिएका छन् । गण्डकीमा ९९ वटा सरकारी कार्यालयसमेत आबद्ध भएको प्रमुख पराजुलीले जानकारी दिए । उनका अनुसार २ वटा स्थानिय तह पनि कोषमा आबद्ध भएका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका कोषमा आबद्ध भएको उनले बताए ।
गण्डकी प्रदेश पर्यटन र शिक्षाको हब भए पनि त्यस क्षेत्रका रोजगारदाताहरु भने न्यून मात्रै कोषमा आबद्ध भएको उनले बताए । हामीले कोषमा आबद्ध बनाउने प्रयास गरिरहेका छौं,उनले भने,‘तर उहाँहरुको अनिच्छाका कारण न्यून मात्रै आउनु भएको छ ।’ उनले कोषमा आउनलाई सचेतनासँगै बाध्यात्मक बनाउन जरुरी रहेकोसमेत औंल्याए ।
गत वर्ष आबद्ध रोजगारदाता तथा योगदानकर्ताको संख्या लक्ष्य अनुरुप हासिल नभएको उनले बताए । हामीले लक्ष्य योभन्दा बढी राखेका थियौं,उनले भने,‘तर विविध कारणले लक्ष्य हासिल गर्न सकिएन ।’
पछिल्लो समय सामाजिक सुरक्षा कोषप्रति आम समुदाय आकर्षित हुँदै गएको प्रमुख पराजुलीले बताए । योगदानकर्ताहरुको चासो व्यापक हुन थालेको छ,उनले भने,‘कोषबारे, कोषले दिने पेन्सन, सेवा, सुविधालगायतबारे बुझ्न चासो दिन थालेका छन् ।’ तर रोजगारदाताहरुको अनिच्छाले अझै पनि योगदानकर्ता आउन सकेका छैनन् । सबैभन्दा कोषको महत्व अझै बुझाउन सकिएको छैन,उनले थपे,‘योगदानकर्ताले पाउने सुविधा, पेन्सनसँगै अन्य फाइदाका बारेमा बुझाउनु नै मुख्य चुनौति हो ।’
सामाजिक सुरक्षा कोषको बारेमा बुझाउन कार्यालयले अभिमुखीकरण, अन्र्तक्रिया, छलफल, गोष्ठीलगायतका गतिविधि गरिरहेको उनले जानकारी दिए । तर यो अझै पर्याप्त नभएको उनको भनाई छ । त्यसबाहेक पोखरास्थित कार्यालयमा आएका ९ हजार २ सय ६० योगदानकर्ताहरुलाई सहजीकरण गर्नुका साथै टेलिफोन, एसएमएसमार्फत ६ हजार ८ सय ४० जनालाई सेवाबारे जानकारी गराइएको उनले बताए ।
साँघुरो कार्यालय, जनशक्ति अभाव, स्रोतसाधनको कमीलगायतका कारण सोंचेअनुरुप सेवा प्रदान गर्न नसकिएको प्रमुख पराजुलीले बताए । उनले भने,’हामीले सकेको सेवा दिने प्रयास गरिरहेका छौं,उनले भने,‘थप जनशक्ति र ईन्टर्नको माग गरि पठाएका पनि छौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





