पोखरामा पनि प्रोटोन इ.मास ५को बिक्री सुरु, सुरुआती मूल्य २९ लाख ९९ हजार


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८३ मा प्रकाशित




पोखरा । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले आफ्नो आधिकारिक च्यानल पार्टनर स्क्वायर अटोमोबाइल्स प्रा.लि. सँगको सहकार्यमा पोखरास्थित आधिकारिक शोरुमबाट नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा भित्रिएको प्रोटोन इ.मास ५ आधुनिक शहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा दिगो बनाउने उद्देश्यसहित नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा व्यावसायिक साझेदार, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। पर्यटकीय राजधानीका रूपमा परिचित पोखराबाट विद्युतीय सवारीको नयाँ मोडल सार्वजनिक गरिनुले दिगो यातायातप्रतिको विश्वास थप मजबुत हुने कम्पनीको अपेक्षा छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको सफल साझेदारीलाई निरन्तरता दिँदै पोखराबाट प्रोटोन इ.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए। अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता तथा प्रतिस्पर्धी मूल्यका कारण इ.मास ५ यस पोखरासहित समग्र गण्डकी प्रदेशमा ग्राहकहरूको पहिलो रोजाइ बन्ने विश्वास उनले व्यक्त गरे। उनले प्रोटोन इ.मास ७ ले नेपाली बजारमा पाएको सकारात्मक प्रतिक्रियापछि इ.मास ५ प्रति देखिएको उत्साह, बुकिङ तथा बिक्रीका लागि स्क्वायर अटोमोबाइल्स प्रा.लि. का सञ्चालक तथा सम्पूर्ण टोलीलाई धन्यवादसमेत दिए।
मलेसियाको अग्रणी राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोन ले सन् २०१७ देखि गिलीसँगको रणनीतिक साझेदारीमार्फत अन्तर्राष्ट्रिय विस्तारलाई तीव्र बनाउँदै आएको कम्पनीले जनाएको छ। हाल प्रोटोन इ.मास मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित भइसकेको छ भने नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। पोखरा क्षेत्रीय सार्वजनिककरणको अवसरमा जगदम्बा मोटर्स र स्क्वायर अटोमोबाइल्स प्रा.लि. ले प्राइम भेरियन्टको विशेष सुरुआती मूल्य रु. २९.९९ लाख तथा प्रिमियम भेरियन्टको विशेष सुरुआती मूल्य रु. ३४.९९ लाख घोषणा गरेका छन्। कम्पनीका अनुसार यी विशेष मूल्य पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुनेछन्। इच्छुक ग्राहकले पोखरास्थित प्रोटोन शोरुम मा पुगेर नयाँ प्रोटोन इ.मास ५ को प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा अत्याधुनिक प्रविधिको अनुभव लिन सक्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।