दोस्रो कोदो महोत्सव कोदीमा सम्पन्न, कोदो उत्पादक कृषक सम्मानित


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८३ मा प्रकाशित




पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ ।

पोखरा २२ कोदीमा आयोजित महोत्सवमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ । १७ रोपनी क्षेत्रफलमा कोदो खेती गरेका पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २८ का कृषक शोभा भण्डारी र ९ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का कृषक होम बहादुर गुरुङलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सम्मान गरे ।

यसअघि महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार आजको आवश्यकता भएको बताए । उनले रैथाने बालीका रूपमा कोदो खेतीको प्रवर्द्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको पनि उल्लेख गरे । उनले कोदो उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन महानगरपालिकाले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा उनको जोड थियो । त्यस अवसरमा नगर प्रमुख आचार्यले कोदो कृषकहरूलाई समर्थन मूल्य समेत प्रदान गरेका छन् ।

महोत्सवमा कोदो रोप्ने प्रतियोगिता समेत सम्पन्न भएको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार नगर क्षेत्रको करिब ३ हजार ८ सय हेक्टर क्षेत्रफलमा कोदो खेती लगाउने गरिएको छ भने, ४८ सय मेक्ट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ । बजारमा माग बढिरहेका बेला उत्पादन भने दिनानुदिन घट्दै गइरहेको अवस्थामा कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि गर्न कोदोको न्यूनतम समर्थन मूल्य समेत प्रदान गर्न थालिएको कडरियाले बताए ।

महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी राखिएको थियो । कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।