सन्देश श्रेष्ठ
पाोखरा, साउन १७
चीनको सांघाईमा हुने अटो एक्स्पोमा सहभागी हुन नेपालबाट ३० जनाको जम्बो टोली जाने भएको छ । चार दिनसम्म चल्ने एक्स्पोमा अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट नियाल्न र त्यसको मर्मत सम्भार सम्बन्धी तालिम लिन पोखराका २२ जना सहित देशभरका ३० जना अटो मेकानिक्सहरु सोमबार त्यसतर्फ जाने लागेका हुन् ।
एपेस सोर्सिङ एण्ड म्याचिङ कन्फरेन्स–२०२६ को निमन्त्रणामा त्यहाँ हुने एक्स्पोको म्याचिङ सेसनमा सहभागी हुन नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा टोली जान लागेको हो । ८० देशका प्रतिनिधि सहभागी हुने एक्स्पोमा १ हजार ७ सय ८५ वटा गाडी कम्पनी सहभागी हुने दाबी गरिएको छ ।
यसैबीच, सोमबार विहान ११ बजेको उडानबाट चीन प्रस्थान गर्ने टोलीलाई आईतबार पोखराबाट विदाई गरिएको छ । पोखराबाट जाने टोलीलाई गण्डकी अटो मेकानिकल्स एशोसियसनका पूर्व अध्यक्षहरु सनतकुमार भट्टराई, सानुमान जलारी, सल्लाहकार कृष्णबहादुर थापालगायतले माला र खादा लगाएर विदाई गरे ।
एघार दिने भ्रमणमा जाने टोलीले सांघाई एक्स्पोमा एकहप्तासम्म अटो क्षेत्रमा आएको आमूल पविर्तनलाई नजिकबाट नियाल्नेछन् । हाल अटोमोवाइल क्षेत्रमा आएको नवीनतम अटोमोवाइल प्रविधि, उपकरण र उत्पादनको अवलोकनसँगै त्यसको पार्टपूर्जा र मर्मतसम्भारलगायतबारे तालिम लिने नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार तालिममा ५ फरक विधामा ६÷६ जनाले तालिम लिनेछन् । जस अनुसार इभी वायरिङ, इन्जिन, पाट्र्स, पम्प इन्जिन, टर्बो र बडी मेकानिक सम्बन्धी तालिम सम्बन्धित मेकानिक्सहरुले लिनेगरी समूह विभाजन गरिएको छ । उनले भने,‘जसले जे जानेको छ, त्यसलाई त्यहि सम्बन्धि तालिम लिनेगरी समूह बनाएका छौं ।’
तालिम नेपाल र नेपाली मेकानिक्सका लागि महत्वपूर्ण रहेको गण्डकी अटो मेकानिक्स एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । ईभी गाडीमा अहिले आमूल परिवर्तन आएको छ, उनले भने,‘त्यसलाई हामीले जानेसम्म मर्मतसम्भार गर्दै आएका छौं तर अब सिकेर आएपछि झन् त्यसको सदूपयोग गर्नेछौं ।’
टोलीले छेन्दुस्थित एसआरएम गाडी उत्पादन कारखाना तथा चीनका व्यवस्थित अटो सेवा केन्द्र (अटोल्यान्ड)को समेत अवलोकन भ्रमण गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । साथै उद्योगी–व्यवसायीबीच हुने बीटुबी (बिजनेस–टु–बिजनेस) छलफलमा समेत सहभागी हुने उनले बताए ।
एक्स्पोमा सहभागी हुने ८३ देशमध्ये ४० देशको सबै खर्च आयोजकले बेहोर्नेछ भने बाँकी नेपालसहित ४३ देशको खाने, बस्ने र तालिममा लाग्ने खर्च मात्रै आयोजकले बेहोर्नेछ । नेपालबाट गएको टोलीले त्यहाँ बस्ने, खाने र तालिममा लाग्ने खर्चबाहेक आवतजावतमा लाग्ने हवाई यातायात खर्च बेहोर्नुपर्ने नेपाल अटो मेकानिक्स व्यवसायिक माहसंघका बरिस्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए । जसका लागि प्रति व्यक्ति दुई लाख भन्दा बढी खर्च हुने गण्डकी अटो मेकानिकल्स वक्र्स एशोसियसनका अध्यक्ष बिष्णुप्रसाद अधिकारीले बताए ।
ईभी गाडीको बहार आइरहेका बेला अटो मेकानिक्सहरुलाई ईभी गाडी उत्पादन हुने देशकै कारखानामा गएर तालिम लिने अवसर भए पनि राज्यले सहयोग नगदा उनीहरु खिन्न बनेका छन् । तालिममा सहभागिताका लागि सहयोग गर्न पोखरा महानगरपालिकादेखि गण्डकी प्रदेश सरकारलाई गुहार्दा पनि सहयोग नपाएको अध्यक्ष अधिकारीले बताए । तालिममा सिकेका कुरा व्यवहारमा उतार्दा देशलाई नै फाइदा हुने कुरा हो,उनले भने,‘तर पोखराका मेयर धनराज आचार्यदेखि गण्डकीका मन्त्री र मुख्यमन्त्रीसम्मलाई गुहार्दा पनि सहयोग पाइएन ।’ उनले राज्यबाट सहयोग नहुनु दुर्भाग्य र विडम्वनापूर्ण भएको टिप्पणी गरे । पोखराको भगिनी सम्बन्ध रहेको छेन्दूमा जाँदा पनि महानगरले सहयोग नगर्नुका साथै त्यहाँको सहरलाई पनि समन्वयका लागि पहल नगरिदिदा आफूहरुको चित्त दुःखेको उनले बताए ।
बिदाइ कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले चीन भ्रमण नेपाली अटोमेकानिकल क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको बताए । ‘हामी आधुनिक प्रविधि र कार्यशैली सिकेर त्यसलाई नेपालमा प्रयोग गर्नेछौँ । यसबाट अटोमेकानिकल क्षेत्र थप व्यावसायिक र प्रतिस्पर्धी बन्न सहयोग पुग्नेछ’–उनले भने ।
संस्थाका सल्लाहकार कृष्ण थापाले भ्रमणलाई केवल अवलोकनमा सीमित नराखी ज्ञान, सीप र प्रविधि आर्जन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे । उनले भने,‘यहाँ सिकेका अनुभवले सहभागीको व्यक्तिगत क्षमता मात्र होइन, पोखरा र समग्र नेपालको अटोमेकानिकल क्षेत्रको विकासमा समेत योगदान पुयाउनेछ ।’ विदाई कार्यक्रममा कार्यवाहक अध्यक्ष नवराज सुनार, पत्रकार सूर्य सिकारुलगायतले पनि यात्रा तथा तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखरा–८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक…





