पर्यटकको सुरक्षाका लागि टानसँग समन्वय भईरहेको छ: पर्यटन बोर्डका कार्यकारी सदस्य पोखरेल


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित




नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् ।

होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए । बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै, उनले यसबाट व्यवसायीले फाइदा लिन सक्नुपर्ने भनाई राखे । पोखराका तालहरुको संरक्षणका लागि बजेट छुट्टिएको, यहाँ भएका विभिन्न ताल मध्ये एउटा ताल जलगतिविधिका लागि छुट्याउने तयारी भएको, आरोग्य पर्यटनलाई अगाडि बढाउन बोर्ड गंभीर भएर लागिरहेको र उचाईमा यात्रा गर्ने पर्यटकको सुरक्षाका लागि टानसँग समेत बोर्डले समन्वय गरिरहेको कार्यक्रममा पोखरेलले बताए ।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले बोर्डसँग समन्वय गरेर आफूहरु अगाडि बढ्न चाहेको बताए । संघले विगतदेखि संचालन गर्दै आएको चलिय पोखरा जस्तो कार्यक्रमको प्रभावका कारण पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढ्न पुगेको अध्यक्ष सुवेदीले सुनाए । यसप्रकारका प्रबद्र्धन कार्यक्रम निजी क्षेत्रले संचालन गर्न सहज हुने खालका नीतिनियम बोर्डले बनाउनुपर्ने सुझाव पनि उनले राखे । होटलका कर्मचारी र संचालकका लागि आबश्यक तालिम संचालनमा बोर्डले सघाउनुपर्ने उनको माग छ। होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पीडितहरुको पनि कुरा सुन्दै फेवा तालको संरक्षमा सरकार गंभीर बन्नुपर्ने भनाई राखे । फेवा संरक्षणका लागि सरकारले बजेट छुट्याएको आफूले थाह नपाएको बताउँदै उनले यस तालका लागि कति बजेट छुट्टियो त भनी प्रश्न राखे । पदयात्रा क्षेत्र लगायत अन्य ठाउँमा पुराना भइसकेका संकेतबोर्डहरु फेर्नुपर्ने सुझाव पनि उनको थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटकको संख्या कसरी र कुन ठाउँबाट राख्न सकिन्छ भनी छलफल अघि बढिसकेको जानकारी दिए । नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टेनियरिङ पोखरामा आउने तयारी अगाडि बढेको जानकारी दिंदै लामिछानेले जग्गाको टुंगो लागे सो संस्थाले पोखरामा समेत आफ्नो उपस्थिति जनाउने बताए । पोखरा आउने पर्यटकको बसाई अवधि लम्ब्याउनेतर्फ ध्यान दिनुपर्ने, पर्यटकलाई बोलाउनुपूर्व तयारी हुनुपर्ने, यस विषयमा पालिकाहरुसँग पनि समन्वय गरिनुपर्ने र धेरै संख्यामा पर्यटक आउँदा तिनको व्यवस्थापनका लागि पोखराले आफूलाई सक्षम बनाउनुपर्ने तथा विविध भाषामा स्तरीय प्रचार सामग्री विकास गरिनुपर्ने सुझाव पनि कार्यक्रममा राखिएको थियो । दृष्यावलोकन सम्वन्धि प्याकेजहरु एकद्वार प्रणालीबाट बेचिनुपर्ने र एक्यापले अन्नपूर्ण क्षेत्रमा आफ्नो क्षमता अनुसारको संख्यामा मात्र पर्यटकहरुलाई पठाउनुपर्ने सुझाव पनि राखिएको थियो ।

कार्यक्रमा संघका पूर्व अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रमेश, सचिव पार्वता पाण्डे र सदस्य शिवराज पहारीले पनि भनाई राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।