गण्डकी, कोशी र बागमतीमा आज भारी वर्षाको अनुमान


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०८३ मा प्रकाशित




पोखरा, साउन १९। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम रहने भएकाले नदी तथा खोलानाला आसपास र पहिरोको जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनाको नियमित अद्यावधिक लिन पनि विभागले अनुरोध गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।