गण्डकी खेलकुद परिषदको पदक वितरणमा चरम लापरवाही र मिलेमतो


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०८३ मा प्रकाशित




पोखरा, साउन २०

गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा चरम लापरवाही भएको पाइएको छ । गण्डकी खेलकुद परिषदले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाहीसँगै मिलेमतोमा पदक वितरण गरेको पाइएको हो । पदक वितरणमा चलखेल र मिलेमतो भएको पाइएपछि खेलाडी तथा खेल सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । यतिसम्मकी पदक वितरणका लागि बनाइएको समितिका सदस्यहरु नै असन्तुष्टि व्यक्त गर्दै हिंडिरहेका छन् ।

गखेपले खेलकुद पदक वितरण २०८१÷८२ मा खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा साही, आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, अन्र्तराष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन, असिम शेरचन, क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु र संघसंस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक वितरण गरेको थियो ।

त्यसबाहेक सर्वोत्कृष्ट प्रदेश खेलबाट गण्डकी प्रदेश टेनिस संघलाई नगद १ लाख २० हजारसहित सम्मान गरिएको थियो भने गण्डकी प्रदेश ह्याण्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई उत्कृष्ट खेल संघ घोषणा गर्दै नगद ९०÷९० हजारसहित सम्मान गरिएको थियो ।

खेलकुद पदक वितरणमा गखेप सदस्य सचिव श्रीधर शर्माले एकल र मनोमानी रुपमा पदक वितरण गर्दा सिफारिस समितिका सदस्यहरु भने पदक प्राप्त गर्ने को को हुन् र कहिले वितरण भएको हो भन्नेमै बेखबर बनेका छन् । अर्कोतर्फ पदक सिफारिस समितिमै बसेकाहरुले पदक लिएको रहस्य पनि खुलेको छ । सिफारिस समितिमा बसेर पदक प्राप्त गर्ने व्यक्ति केशव पाठक हुन् । उनले खेलकुद पत्रकारिता पदक प्राप्त गरेका थिए । सदस्य सचिव श्रीधर शर्माको साख्खै पल्टेर दिनरात कार्यालयमा हैकम जमाउँदै आएका उनले पदकमा पनि श्रीधरको ओत पाएको सिफारिस समितिका सदस्यहरु बताउँछन् ।

त्यस्तै, पदक सिफारिस समितिमै रहेका हरि पराजुली र चित्रबहादुर थापाले पनि आफ्नो संस्थालाई पदक पार्न सफल भएका छन् । पदक सिफारिस समितिमा रहेका पराजुलीले आफू निवर्तमान अध्यक्ष रहेको भूतपूर्व खेलाडी मञ्च र थापाले आफू अध्यक्ष रहेको ह्याण्डबल संघलाई पदक पार्न सफल भएका हुन् ।

ताजुब लाग्दो कुरा त के छ भने पदक सिफारिस समितिको आमन्त्रित सदस्यका रुपमा रहेका पाठकले आफै गखेपको बोर्ड सदस्य रहेको र निमित्त सचिवसमेत बनेर विताएको कार्यकालको पदक हत्याएका छन् । आर्थिक वर्ष २०८१÷८२ को पदक प्राप्त गरेका पाठक सोहि आर्थिक वर्षमा गखेपका बोर्ड सदस्य थिए भने निमित्त सदस्य सचिवसमेत सोहि वर्ष बनेका थिए । पत्रकारिता पदक प्राप्त गरेका पाठक वर्तमान गखेप बोर्डका सल्लाहकारसमेत हुन् भने संघसंस्था समन्वय समितिका संयोजकसमेत हुन् ।

अर्को अचम्म लाग्दो कुरा त के छ भने पदक वितरण गर्ने निर्णयसमेत नभई पदक वितरण भएको सिफारिस समितिकै सदस्यहरु बताउँछन् । पदक सिफारिस समितिका अध्यक्ष मदन केसीले पदक वितरण गर्ने निर्णय नभएको बताए । आफूहरुले पदक प्राप्त गर्ने नामावली सिफारिस नगरेको बरु प्रारम्भिक सूचीमात्र तयार गरेको उनको दाबी छ । हामीले आवेदक १८ मध्य १३ जनाको प्रारम्भिक सूची बनाएका थियौं,उनले अगाडि भने,‘पर्याप्त आवेदन नआएकाले थप ३५ दिनको समय दिएर पुनः आवेदन आह्वान गर्न आग्रह गरेका थियौं, तर हामीलाई थाहै नदिई हतारहतार पदक वितरण गरियो ।’ उनले आफूहरुको सिफारिस बिना र सहभागिता बिना पदक वितरण भएकोप्रति आपत्तिसमेत जनाए ।

गखेप सदस्य सचिव श्रीधर शर्मा भने आफ्नो अध्यक्षतामा बसेको गखेप बोर्ड बैठकले पदक सिफारिस समितिले पठाएको नामलाई निर्णय गरेर पदक वितरण गरेको जिकीर गर्छन् । उनले गत भदौ २३ र २५ गते तथा चैत १७ गते बसेको पदक सिफारिस समितिको बैठकले पदक प्राप्त गर्ने खेलाडी तथा संघसंस्थाहरुको नाम सिफारिस गरेको दाबी गरे । तर उनले भनेको बैठक मिति जेनजी आन्दोलनको समय परेको देखिन्छ । जबकी पहिलो बैठक भदौ २३ गते बसेको भनिएको छ, जुन मितिमा देशैभर युवाहरु प्रदर्शनमा उत्रिएको तथा काठमाडौंसहित देशका विभिन्न ठाउँमा गोली चल्दा ७६ जना जेनजी युवाहरुको ज्यान गएको थियो । अर्कोतर्फ दोस्रो बैठक भदौ २५ गते भनिएको छ, सो दिन भदौ २४ मा भएको तोडफोड र आगजनीका कारण देशैभरका कार्यालयहरु बन्द भएको बेला परेको छ । अन्य कार्यालयहरुजस्तै भदौ २५ गते गखेपको कार्यालय रहेको पोखरा रंगशालासहित अन्य सबै कार्यालयहरु बन्द रहेका थिए । सो मितिमा बैठक नै नबसेको सिफारिस समितिका संयोजक मदन केसीले बताए ।

सिफारिस समितिमा बसेको व्यक्ति आफैले पदक लिनु गलत भएको सिफारिस समितिका अर्का सदस्य दुर्गा अधिकारीले बताईन् । बैठकमा आफू एक पटक मात्र सहभागी भएको बताउँदै उनले भनिन्,‘त्यसबेला सिफारिस समितिमै बसेका व्यक्तिलाई पदक दिने कुरा थाहा पाएपछि आफूले सम्बन्धित व्यक्तिलाई नलिन आग्रह गरेको तर ती व्यक्तिले पहिल्यै सिफारिस गरेको भन्दै लिईछाड्ने जवाफ दिए ।’

गण्डकी प्रदेशकी सामाजिक विकास तथा खेलकुद मन्त्री रेखा गुरुङले सिफारिस बिना नै पदक वितरण गरेको भए कारवाही हुने बताईन् । सदस्य सचिव खराब रहेछन्,उनले भनिन्,‘सिफारिस बिना नै पदक वितरण भएको भए त्यसको छानविन गरेर कारवाही हुन्छ ।’

गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले आफूहरु छात्रवृत्ति वितरण होला भनेर कार्यक्रममा गएको तर पदक वितरण भएको देखेर छक्क परेको बताए । पदक वितरण गर्ने भए मन्त्री स्तरीय निर्णय हुनुपथ्र्यो,उनले भने,‘तर हामीलाईसमेत थाहा नदिई पदक वितरण गर्ने निर्णय भएको रहेछ ।’ उनले यस्ता खराव प्रवृत्तिका व्यक्तिहरुलाई कार्यालयमा राखिराख्नु गलत हुने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।