पोखरा । प्रेम, त्याग, संघर्ष र आत्मसम्मानको भावनात्मक कथामा आधारित नेपाली चलचित्र ८८‘पेन्सन पट्टा’८८को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ। आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले टिजरमार्फत पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र गुरुङ समुदायको जीवनशैलीलाई मार्मिक रूपमा प्रस्तुत गर्ने संकेत दिएको छ।
सार्वजनिक टिजरमा दयाहाङ राई, स्वर्गीय सुनिल थापा, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, पंचसुब्बा गुरुङ (दिल), माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, पुस्कर गुरुङ, राज थापा, डीबी गुरुङ, अनुसा राई, मनोज गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, लुभिना तुलाधर, सुरज तमु लगायतका कलाकारको अभिनय समेटिएको छ। चलचित्रमा पात्रहरूको भावनात्मक उतारचढाव, पारिवारिक जिम्मेवारी र सामाजिक यथार्थलाई विशेष महत्वका साथ प्रस्तुत गरिएको टिजरले देखाउँछ।
टिजरको मुख्य आकर्षण बनेको संवाद “पेन्सन पट्टा कागजको टुक्रा मात्रै होइन, जीवन चलाउने आधार पनि हो“ ले चलचित्रको मूल विषयवस्तुलाई उजागर गरेको छ। पेन्सनलाई केवल आर्थिक सुविधाका रूपमा नभई परिवारको आशा, भविष्य र अस्तित्वसँग जोडिएको आधारका रूपमा प्रस्तुत गरिएको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको छ। यसअघि सार्वजनिक गरिएको ‘जुनीजाला’ गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाएको थियो। चलचित्रको छायाङ्कन कास्कीको ताङतिङ र पोखराका विभिन्न रमणीय स्थानमा गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र विशुद्ध गुरुङ समुदायको सामाजिक परिवेश, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध र जीवन भोगाइमा आधारित छ।
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले ‘पेन्सन पट्टा’ केवल एउटा चलचित्र नभई समाजको यथार्थ कथा भएको बताए। उनका अनुसार गुरुङ समुदायका धेरै परिवारको जीवनमा पेन्सनले आर्थिक सुरक्षासँगै आशा र भविष्य बोकेको हुन्छ, तर त्यससँग जोडिएका पारिवारिक सम्बन्ध, त्याग, पीडा र आत्मसम्मानका कथाहरू भने कमै सुनिने गरेका छन्।
उनले भने, “हामीले यो चलचित्रमार्फत गुरुङ समुदायको एउटा वास्तविक जीवन भोगाइलाई पर्दामा उतार्ने प्रयास गरेका छौं। पेन्सन पट्टा केवल कागज होइन, धेरै परिवारको जीवन धान्ने आधार हो। त्यससँग जोडिएका सम्बन्ध, प्रेम, त्याग र आत्मसम्मानका पक्षलाई दर्शकले आफ्नै परिवारको कथा जस्तै महसुस गर्ने विश्वास लिएका छौं।“
गुरुङका अनुसार चलचित्र कुनै एक समुदायमा मात्रै सीमित नभई नेपाली समाजका साझा भावना र पारिवारिक मूल्यलाई बोकेको कथा भएकाले सबै वर्गका दर्शकले यससँग आफूलाई जोड्न सक्नेछन्। उनले दर्शकलाई हलमै पुगेर चलचित्र हेरी नेपाली मौलिक कथालाई साथ दिन आग्रह पनि गरेका छन्।
सामाजिक यथार्थ, अनुभवी कलाकारहरूको अभिनय, गुरुङ संस्कृतिको मौलिक प्रस्तुति र भावनात्मक कथावस्तुका कारण ‘पेन्सन पट्टा’ यस वर्षको प्रतीक्षित नेपाली चलचित्रमध्ये एक बन्ने अपेक्षा गरिएको छ। चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…





