गण्डकी खेलकुद पदक वितरणमा भएको चरम लापरवाही र मिलेमतोको छानबिन गर्न खेलकुद पत्रकार मञ्च गण्डकीको आग्रह


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०८३ मा प्रकाशित




पोखरा, साउन २२ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप) ले आर्थिक वर्ष २०८१/८२ का लागि गरेको पदक वितरण प्रक्रियामा देखिएको शरम लापरवाही र मिलेमतोको छानबिन गर्न माग गरेको छ। मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) र महासचिव परशुराम शर्माद्वारा जारी विज्ञप्तिमा पदक वितरणमा भएको अनियमितताको छानबिन गर्न माग गरिएको हो।। साथै पदक वितरणमा संलग्न सम्बन्धित समिति तथा जिम्मेवार पदाधिकारीलाई नैतिक जिम्मेवारी वहन गर्दै आफ्नो गल्ती सच्याउनसमेत मञ्चले आग्रह गरेको छ। छानबिनमा दोषी देखिएका व्यक्तिमाथि कानुन तथा प्रचलित मापदण्डअनुसार आवश्यक कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन व्यवस्था मिलाउन पनि मञ्चले आग्रह गरेको छ।
मञ्चले पदक वितरण प्रक्रिया निष्पक्ष, पारदर्शी, मर्यादित तथा विवादरहित हुनुपर्नेमा सार्वजनिक भएका विवरणले कार्यक्रमको गरिमा, सभ्यता र विश्वसनीयता कायम हुन नसकेको जनाएको छ।
विशेषगरी पदक सिफारिस प्रक्रियामा संलग्न व्यक्तिहरू आफैं पुरस्कृत भएको भन्ने आरोप सार्वजनिक हुनु गम्भीर र अमर्यादित विषय भएको मञ्चको ठहर छ। यस्तो कार्य खेलकुदको मूल्यमान्यता विपरीत भएकोसमेत मञ्चले जनाएको छ।
‘खेलकुदले अनुशासन, निष्पक्षता, इमानदारी र नैतिकताको शिक्षा दिने क्षेत्र हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता मूल्य र मान्यताको संरक्षण गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै विधि, प्रक्रिया र नैतिकताको उल्लङ्घन भएको देखिनु समग्र खेलकुद क्षेत्रकै लागि दुःखद र लज्जास्पद विषय हो।’
खेलाडीको मनोबल वृद्धि, खेल क्षेत्रको विकास तथा संस्थागत सुशासनका लागि नेतृत्व तहबाट उच्च नैतिक आचरणको अपेक्षा गरिने मञ्चले जनाएको छ। यसको विपरीत देखिने कुनै पनि गतिविधिले खेलकुदप्रति आमनागरिकको विश्वास कमजोर बनाउने खतरा रहने मञ्चको भनाइ छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आफू सधैं स्वच्छ, पारदर्शी, उत्तरदायी र मर्यादित खेल संस्कृतिको पक्षमा रहेको स्पष्ट गर्दै खेलकुद क्षेत्रको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने जनाएको छ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।