बागलुङको ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ ।
एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिए । ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल तथा घरबासको विकासले पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको उनले बताए ।
रेञ्जर सुवेदीका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०८२,८३ मा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेको जनाउँदै तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका उनले जानकारी दिए । उनका अनुसार आव २०८१,८२ मा २३ हजार ६९२ र आव २०८०,८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका छन् । ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकीपाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ ।
उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि आव २०८२,८३ मा पर्यटक प्रवेश शुल्कबाट रु ४७ लाख ६८ हजार ४०५ र आव २०८१,८२ मा रु ३१ लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको थियो । पर्यटक सूचना प्रणलीको विकास, पर्यटन पदमार्गको रुट कायमलगायत पूर्वाधार विस्तारका कारण ढोरपाटनको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकको आगमन बढेको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले बताए । उनका अनुसार आरक्षले आन्तरिक तथा नेपाली पर्यटकलाई ढोरपाटन प्रवेशका लागि रु १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र विदेशी पर्यटकलाई रु तीन हजार प्रवेश शुल्क लिँदै आएको छ । यस्तै आरक्षले ढुङ्गा गिट्टी बालुवाबाट आर्थिक वर्ष २०८२,८३ मा रु एक करोड एक लाख २७ हजार ९५३ सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सङ्कलन भएको राजस्व रु ४६ लाख ४१ हजारले बढी हो ।
ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. ५ मा आगामी भदौंको तेस्रो साता श्रीमद्भागवत महापुराण…






