बेंसीशहरमा आधुनिक तरकारी खेतीसम्बन्धी निःशुल्क प्रशिक्षण


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८३ मा प्रकाशित




लमजुङको बेंसीशहरमा आधुनिक तरकारी खेती, उत्पादन तथा बजारीकरणसम्बन्धी एकदिने निःशुल्क प्रशिक्षण सम्पन्न भएको छ ।

स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा आधुनिक प्रविधिको प्रयोगमार्फत तरकारी उत्पादन बढाउने, उत्पादन लागत घटाउने र उत्पादित वस्तुलाई व्यवस्थित रूपमा बजारसम्म पुर्‍याउने विषयमा प्रशिक्षण दिइएको हो ।पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्र अपेक्षित आम्दानी लिन कठिन भइरहेको अवस्थामा आधुनिक प्रविधि र व्यावसायिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।प्रशिक्षणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसका प्राध्यापक उत्सव पाण्डे र प्राध्यापक सविन कार्कीले प्रशिक्षण दिएका थिए । उनीहरूले आधुनिक तरकारी खेतीका प्रविधि, उत्पादन व्यवस्थापन, माटो तथा बाली व्यवस्थापन, उत्पादन वृद्धि गर्ने उपाय र व्यावसायिक खेतीका विभिन्न पक्षबारे कृषकलाई जानकारी गराएका थिए ।

प्रशिक्षकहररुले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै उत्पादनलाई बजारको मागअनुसार व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा एभरेष्ट बैंक लिमिटेड शाखा कार्यालयका प्रबन्धक सुवास भट्टराईले कृषि क्षेत्रमा बैंकको लगानी र बैंकिङ सेवाबारे जानकारी गराएका थिए । उनले कृषकलाई व्यावसायिक कृषि उत्पादनमा जोडिन वित्तीय क्षेत्रबाट हुन सक्ने सहयोग, कृषि क्षेत्रमा बैंकको लगानी तथा आवश्यक वित्तीय सेवाका विषयमा जानकारी दिएका थिए । प्रशिक्षणमा सहभागी कृषकहरूले आधुनिक तरकारी खेती गर्दा आइपर्ने व्यावहारिक समस्या, उत्पादन बढाउने उपाय, बजार व्यवस्थापन तथा कृषि व्यवसायमा देखिएका चुनौतीबारे प्रशिक्षकसँग छलफल गरेका थिए ।

कृषकले आफूले गर्दै आएको खेती प्रणालीमा नयाँ प्रविधि र ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे समेत जानकारी लिएका थिए । वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सका सञ्चालक निर्मलजङ घलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आश गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।