पोखरामा गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल हुँदै


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०८३ मा प्रकाशित




पोखराः

कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा पोखरामा गण्डकी प्रदेश स्तरीय ’मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका लागि भदौ २० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलमा ’म्यान अफ दि म्याच’ हुने खेलाडीलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिने उनले बताए ।

टिम दर्ता गर्दा खेलाडीको एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्रसमेत उपलब्ध गराउनु पर्ने प्रावधान राखिएको छ ।

एउटा टिममा ८ जना खेलाडी र २ जना अफिसियल गरी कुल १० जनाको सहभागिता रहने नियम बनाइएको छ । खेलाडीको विवरण फर्म दर्ता गरेपछि कुनै परिवर्तन गर्न नपाइने आयोजकको भनाई छ ।

प्रतियोगिता मिडियामैत्री भएकाले पत्रकार वा संचारकर्मी मात्र सहभागी हुनुपर्नेछ । यस प्रदेशको जुनसुकै जिल्लामा कार्यरत पत्रकार वा संचारकर्मीले प्रतियोगितामा भाग लिन सक्नेछन् ।

बाहिरी जिल्लाबाट आउने खेलाडीका लागि आयोजकले २ छाक खाना र १ रात बस्ने व्यवस्था भएको श्रेष्ठले जानकारी दिए ।

खेल सुरु हुनु २ दिनअघि नै प्रत्यक्ष प्रसारणमार्फत ’टाईसिट’ सार्वजनिक गरिनेछ । सहभागी टिमले खेल सुरु हुनु १ घण्टाअघि नै आयोजकलाई सम्पर्क गर्नुपर्ने र प्रतियोगितामा अनुशासन कायम गर्नुपर्ने नियम तय गरिएको आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।