त्रिवेणी इन्टरनेशनलमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८३ मा प्रकाशित




पोखराको तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजमा विविएस प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उच्च शिक्षाको नयाँ यात्रामा प्रवेश गरेका विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन–अनुशासन, जिम्मेवारी, अवसर तथा भविष्यका चुनौतीबारे जानकारी दिने उद्वेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख डिल्लीराम पौडेलले वताए । कार्यक्रममा शिक्षा क्षेत्रमा सक्रिय, प्रेरणादायी र गतिशील व्यक्तित्व मिलन केसीले प्रमुख वक्ताका रूपमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै विद्यार्थी जीवनलाई भविष्य निर्माणको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा लिन आग्रह गरे । उनले बदलिँदो विश्व परिवेश, प्रविधिको तीव्र विकास तथा कृतिम बुद्विमताको बढ्दो प्रभावले रोजगारी र पेशागत क्षेत्रमा नयाँ चुनौती सिर्जना गरिरहेको चर्चा गर्दै केवल औसत उपलब्धीमा सीमित नभई औसतभन्दा माथिको जीवन र सफलताका लागि अतिरिक्त मेहनत, निरन्तर सिकाइ, सिर्जनशीलता, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताए ।

उनले आजको प्रतिस्पर्धात्मक संसारमा प्रमाणपत्र मात्र पर्याप्त हुँदैन; आफ्नो क्षमता, सीप, चरित्र, आत्मविश्वास र निरन्तर सिक्ने बानी विकास गर्न सक्ने विद्यार्थी नै भोलिको चुनौती सामना गर्न सक्षम हुन्छ भन्ने सन्देश सहित विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति स्पष्ट, मेहनती र प्रतिबद्ध बन्न प्रेरित गरे । उनको प्रेरणादायी प्रस्तुतीले नवाआगन्तुक विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास थपेको थियो। कार्यक्रमका सभाध्यक्ष तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूका विविध आवश्यकता र समस्याप्रति कलेज सदैव संवेदनशील रहेको बताए । उनले आर्थिक तथा शैक्षिक रूपमा आवश्यक सहयोग, छात्रवृत्ति तथा विद्यार्थीका समस्या समाधानका लागि कलेज व्यवस्थापन प्रतिबद्ध रहेको स्पष्ट पार्दै विद्यार्थीलाई कलेज परिवारको अभिन्न सदस्यका रूपमा अनुभूति हुने वातावरण निर्माण गरिने उल्लेख गरे ।

क्याम्पस प्रमुख डिल्लीराम पौडेलले सम्पूर्ण नवागन्तुक विद्यार्थी तथा कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत तथा सम्मान व्यक्त गर्दै त्रिवेणी इन्टरनेशनल कलेज रोजेर आफ्नो उच्च शिक्षाको यात्रा प्रारम्भ गरेकोमा विद्यार्थीहरूप्रति आभार व्यक्त गरे। कलेजमा विद्यार्थी केवल पढ्न मात्रै आउने होइनन्, आफ्नो भविष्य निर्माण गर्न आउने हुन्। त्यसैले उनीहरूको प्रतिभा पहिचान, क्षमता विकास र सफल भविष्य निर्माणका लागि कलेज सदैव सहयात्री बन्नेछ भन्दै प्रमुख पौडेलले विद्यार्थीका शैक्षिक तथा व्यक्तिगत अपेक्षा पूरा गर्न कलेजको तर्फबाट सम्भव भएसम्म उत्कृष्ट प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दै अध्ययनका साथै अनुशासन, संस्कार, सीप र सकारात्मक सोचलाई प्राथमिकता दिन विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नवागन्तुक विद्यार्थीहरूका तर्फबाट रोशनी भट्टराई, मनिस रानाभाट, शिल्पा न्यौपाने र सुष्मा माजकोटीले मन्तव्य व्यक्त गर्दै कलेजमा अध्ययन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै अनुशासित भएर अध्ययनलाई अगाडि बढाउने प्रतिबद्वता जनाए । कार्यक्रमको सञ्चालन कलेजका सहायक क्याम्पस प्रमुख सुनिलदत्त बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।