गण्डकी मेडिकल कलेज पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २५ लाख सहयोग


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८३ मा प्रकाशित




पोखरा, १७ भदौ २०८३

भोटेकोशी र त्रिशुलीमा आएको बाढीको कारण देशमा उत्पन्न वर्तमान विपद् परिस्थितिलाई मध्यनजर गर्दै गण्डकी मेडिकल कलेज (GMC), पोखराले प्रधानमन्त्री राहत कोषमा रु. २५ लाख सहयोग गरेको छ।

गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद आर्यालका अनुसार नगद सहयोगका अतिरिक्त विपद्बाट प्रभावित नागरिकको निःशुल्क उपचारका लागि गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको व्यवस्था गरिएको छ। अध्यक्ष अर्यालले कलेजले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्नुका साथै बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा आवश्यक औषधिसमेत पठाउँदै आएको जनाएको छ।

देशमा परेको विपद्को कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै मानवीय सेवामा निरन्तर सक्रिय रहेको कलेजले जनाएको छ। बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कलेजले आफ्नो तर्फबाट विभिन्न पहल गर्दै आएको हो।

कलेज प्रशासनका अनुसार उक्त सहयोग रकम गण्डकी मेडिकल कलेजका सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सीएफओ राजु बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम अग्रवाललाई हस्तान्तरण गरेका हुन् । गण्डकी मेडिकल कलेजले विपद्का बेला आर्थिक सहयोगसँगै स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउँदै सामाजिक तथा मानवीय उत्तरदायित्व निर्वाह गरेको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।