नव आदर्शको राहत सामाग्री रसुवाका बाढी प्रभावितलाई


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८३ मा प्रकाशित




पोखराको अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामाग्री रसुवा पठाएको छ ।

गत भदौं १० गते भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावित भएका नागरिकका लागि समाजले संकलन गरेको राहत सामाग्री सोमबार रसुवा पठाईएको समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए । भदौ १६ देखि १८ गतेसम्म संकलन गरिएको करिब १२ लाख ५० हजार बराबरको सामाग्री कर्मा फ्लाईट्ससँगको समन्वयमा रसुवाको बाढी प्रभावित क्षेत्रमा पठाईएको अध्यक्ष भण्डारीले बताए । तीन दिनको बिचमा संकलित खाद्यान्न, लत्ता कपडा,भाडाँवर्तनसहित ४० प्रकारका सामाग्री त्यस तर्फ पठाईएको हो ।

एल सि ब्रदर्श युनाईटेड र बिभिन्न देशमा रहेका भातृ संस्थासँगको सहकार्यमा समाजले राहत अभियान नै संचालन गरेको थियो ।जसमा चामल, तेल, विस्कुट, चाउचाउ, खानेतेल, सेनेटरी प्याड,पि म्याट, जुत्ता चप्पलसहितका सामाग्री संकलन भएको थियो । समाजले यस अघि नै बाढी पिडितको लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।उसले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो ।

समाजले विगत २८ बर्षदेखि संचालन गर्दै आएको लामाचौर तीज महोत्सव देशमा उत्पन्न विषम परिस्थितीलाई मध्यनजर गर्दै स्थगित गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।