मुस्ताङमा यही भदौ ३० र ३१ गते हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
विश्वकै चिन्ता र चासोको विषय बनिरहेको जलवायु परिवर्तनको प्रभाव र स्थानीय समुदायम पुर्याएको असरलगायतका विषयमा साझा अवधारणा तयार गर्न स्थानीय घरपझोङ गाउँपालिकाले जलवायु सम्मेलनको तयारी गरेको हो ।हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनले पृथ्वीको तापमान वृद्धिले नेपालका हिमाली, पहाडी र तराईका जिल्लाले भोग्नुपरेका जलवायु सङ्कट र त्यसको समुचित व्यवस्थापनका विषयमा सम्मेलनमा गहन बहस हुनेछ । जलवायु परिवर्तनबाट भएको असरबाट नेपालमा पुर्याइरहेको क्षति र भावि दिनमा पुर्याउनसक्ने जोखिमलगायत विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न सम्मेलन आयोजना गर्न लागिएको उक्त गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।
सम्मेलनमा हिमाल, पहाड र तराई क्षेत्रले भोग्नुपरेका जलवायु सङ्कटका समस्या र चुनौतीको उजागर गरिने उनले बताए । सम्मेलनमा पालिका प्रमुख एवं प्रतिनिधिलाई सहभागी हुन ७५३ वटै स्थानीय तहलाई पत्रचार गरिएको छ । त्यसमध्ये ३५२ वटा पालिकाबाट सम्मेलनमा सहभागी हुने लिखित तथा मौखिक जानकारी प्राप्त भएको अधिकृत बस्नेतले जानकारी दिए । त्यस्तै, ७७ वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, सातवटै प्रदेशका वन, पर्यटन र वातावरण हेर्ने सचिवलाई सम्मेलनमा सहभागी हुन यसअघि नै निमन्त्रणा पठाई सकिएको छ ।गाउँपालिका अनुसार पहिलो पटक मुुस्ताङमा आयोजना हुने उक्त सम्मेलनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी तथा जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिसमेत गरी दुई हजार बढी व्यक्तिको सहभागिता रहनेछ ।
यस्तै, नगरपालिका महासङ्घ गाउँपालिका महासङ्घ र जिसस महासङ्घ लगायतलाई पनि सम्मेलनमा आमन्त्रण गरिएको छ ।सम्मेलनमा सहभागी तथा अतिथिको आवास तथा भोजनको व्यवस्थापनका लागि गाउँपालिकाले पालिकाभित्रका साना र ठूला गरी १०० भन्दाबढी होटल दुई दिनका लागि बुकिङ गरिसकेको छ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले भदौ ३० गते उद्घाटन गर्ने त्यस सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयसमेत विशेष अथितिका रुपमा सहभागी हुनेछन् ।प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार सम्मेलनमा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ,डब्लु डब्लु एफ, प्रकृति संरक्षणका लागि अन्तरराष्ट्रिय सङ्घ , त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्र विभाग र वातावरण विज्ञ केन्द्रीय विभाग, राष्ट्रिय विपद् जोखिम तथा पुनर्निर्माण प्राधिकरण र कृषि वन तथा पर्यावरण मन्त्रालयलगायतका विज्ञ टोलीको सहभागिता रहनेछ ।
सम्मेलनको पहिलो दिन उद्घाटन र जलवायुसँग सम्बन्धित विषयमा केन्द्रित रही चरणबद्ध समूहगत छलफल हुनेछ । सम्मेलनमा जलवायुसँग सम्बन्धित सबै स्थानीय तहमा जलवायु परिवर्तनले पारेका असरसम्बन्धी फोटो प्रदर्शनी गरिने छ । सम्मेलनमा स्थानीयस्तरमा पाइने कृषि तथा पशुपालनसम्बन्धी उत्पादनका ५० भन्दाबढी प्रदर्शनी कक्ष राखिने जनाइएको छ ।त्यस्तै, दोस्रो दिन ७५३ वटै स्थानीय तह तथा जलवायु विज्ञले पेस गरेका अवधारणा पत्रलाई समावेश गरी ऐतिहासिक घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को साझा घोषणापत्र जारी गरिने भएको छ ।
पछिल्लो समय गत भदौ १० गते जलवायु परिवर्तनका असरका कारण हिमपात फुटेर रसुवाको भोटेकोशीमा बाढीले पुर्याएको ठूलो धनधनको क्षतिका सन्दर्भमा मुस्ताङमा विश्वसमुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले सम्मेलन प्रभावकारी हुने विश्वास गरिएको छ । पछिल्लो पाँच वर्ष यता हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनले कृषि, पर्यटन, पशुपालन, धर्मसंस्कृति, पर्यावरण, जैविक विविधता र वातावरणीय क्षेत्रहरुमा प्रतिकूल असर पुगेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २५ कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन…





