प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८३ मा प्रकाशित




प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गरे । प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री लक्सनले नेपालले भोग्नुपरेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्युजील्याण्ड सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।