तनहुँको बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०८३ मा प्रकाशित




तनहुँको व्यास नगरपालिका २ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने डुबान तथा कटानबाट जोगाउन तटबन्धन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।

बुल्दी खोलाको आसपासका बाघबजार, उत्तरशिला र पुल्चोक टोललगायतका क्षेत्र वर्षायाममा डुबान तथा कटानको जोखिममा पर्दै आएका छन् । खोलामा पानीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि तटबन्धन निर्माण थालिएको हो ।सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३,८४ को बजेटबाट तटबन्धन सुरु गरिएको वडासदस्य सुरेश वाग्लेले जानकारी दिए । उनका अनुसार उक्त कार्यका लागि रु एक करोड तीन लाखको बोलपत्र गरिएको छ ।

बुल्दी खोलाको जोखिमयुक्त क्षेत्रमा आवश्यक संरचना निर्माण तथा व्यवस्थापन गरी वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको वाग्लेले बताए । तटबन्धन निर्माणसँगै खोलाको किनार तथा जोखिमयुक्त क्षेत्रमा कटान नियन्त्रण हुने र आसपासका बस्तीमा डुबानको जोखिमसमेत कम हुने उनको भनाइ छ । विगतमा वर्षायाममा खोलाको बहाव बढ्दा प्रभावित हुने क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको वाग्लेले बताए । व्यास नगरपालिका २ बाहेक व्यास नगरपालिका १ का केही जोखिमयुक्त स्थानमा समेत तटबन्ध निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

उनले जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यकताअनुसार तटबन्धन तथा अन्य संरचना निर्माणलाई प्रभावकारी रूपमा अघि बढाइने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।